सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने


काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज (शुक्रबार) दिउँसो २ बजे बयान लिने भएको छ ।

सहकारीको रकम दुरुपयोग र अपचलनका विषयमा बुझ्न उनलाई बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी र कास्कीको सूर्यदर्शन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ऋण प्रवाह भएको विषय बाहिरिएको छ । लामिछाने गोरखा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक हुन् । लामिछानेसँगै सञ्चालक छविलाल जोशीलाई पनि आजनै सोधपुछका लागि बोलाइएको छ । जोशीलाई बिहान ११ बजे बोलाईएको समितिले जनाएको छ ।

सहकारीमा भएको समस्यको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरू गरेको थियो । समितिलाई दिएको तीनमहिनाको समयअवधि भदौँ २३ गते सकिँदैछ ।