कृषिमा ५५ अर्ब ९७ करोड बजेट, चालू वर्ष भन्दा १५ अर्ब बढ्याे


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७९/७८ का लागि कृषि क्षेत्रमा ५५ अर्व ९७ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट बक्तव्य पेश गर्दै कृषक पेन्सन लगायतका कार्यक्रम कृषि क्षेत्रको प्रवद्र्धनका लागि ल्याइएको बताए । 

चालू आवको तुलनामा आगामी वर्षको बजेट १४ अर्ब  ८८ करोड बढी रकम विनियोजन गरिएको हो । चालू आवमा सरकारले ४१ अर्ब १० करोड रकम विनियोजन गरिएको थियो भने आव ०७७/७९ मा ३७ अर्ब ४० करोड रकम विनियोजन गरिएको थियो।

किसानसँग सरकार कार्यक्रम लागू गरिने भएको छ । कृषकलाई पेन्सन उपलब्ध गराउन १ अर्बको बिउकोषको स्थापना गर्ने घोषणा गरिएको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषिको आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकरण गरिने विगतको प्राथमिकतालाई निरन्तरता दिइएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमलाई पुनर्संरचना गरिने बताइएको छ । यो योजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको छ । कृषि उत्पादन कार्यक्रमलाई १० अर्ब विनियोजन गरिएको छ । 

प्रत्येक स्थानीय तहमा स्नातक गरेका कृषि प्राविधिकको व्यवस्था गरिने भएको छ । कृषि कर्जा प्रवाहका लागि ५ खर्बको लघुवित्त कोष स्थापना गरिने घोषणा गरिने भएको छ । 

सरकारले सेवा विवृत्त कृषिका पूर्व कर्मचारी तथा वैज्ञानिकको शीपको सदुपयोग गर्ने भएको छ । 

रासायनिक मल कारखाना स्थापनालाई प्राथमिकतामा राखिएको छ । अनुदानको मलखादलाई १५ अर्ब विनियोजन गरिएको छ।

खाद्यान्न भण्डारका लागि एक सय सामुदायिक खाद्य भण्डार स्थापना गर्न ४५ करोड विनियोजन गरिएको छ । २०७९ लाई कृषि जैविक विविधता वर्षको रुपमा मनाइने भएको छ । बिमाका लागि ७७ करोड र उखु किसानलाई अनुदानका लागि ८१ करोड लगायतका कार्यक्रम सरकारले ल्याएको छ ।