नेपालमै उत्पादन हुन थाल्यो ‘भिडोल’, कस्ता छन् स्वदेशी लुब्रिकेन्टका चुनौति ?

कम्पनीले एक महिनामा १० लाख लिटर उत्पादन गर्न सक्छ


धनुषा । अटोमोबाइल्स क्षेत्रमा नयाँ प्रविधि र ब्राण्डको हिस्सा बढ्दै गइरहेको छ भने नेपालले पनि विश्व स्तरको अटोमोबाइल्स सेवा विस्तारमा फड्को मारिरहेको छ। केही समय अघिसम्म मान्छेको शोख र रुचिको लागि प्रयोग गरिने सवारी साधन आज आवश्यकताको वस्तुमा परिणत हुन थालेको छ । नेपालमा सवारी साधनको प्रयोग बढ्दै जाँदा, सवारीमा प्रयोग हुने सामाग्रीहरूको बजार विस्तारको क्रम समेत तीव्र देखिन्छ ।

नेपालमै कार उत्पादनसमेत हुन थालेको चर्चा सेलाउन नपाउँदै सवारी साधनमा प्रयोग हुने लुबिक्रेन्टको अन्तराष्ट्रिय ब्राण्ड भिडोलको उत्पादन नेपालमै हुन थालेको छ । युनाइटेड लुब्रिकेन्टस् कम्पनीसँगको सहकार्यमा भिडोलले धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ लालभित्तामा फ्रेन्चआइज उत्पादन सुरू गरेको हो ।

अटोमोटिभ र इन्डष्ट्रियल प्रयोजनमा प्रयोग हुने सबै रेन्जका भिडोल लुब्रिकेन्ट उत्पादन सुरू गरिएको कम्पनीका जनरल म्यानेजर दिनेश खनालले जानकारी गराए। “हामीले भिडोल इन्टरनेसनलसँग टेक्नोलोजी ट्रान्सफर गरी यसको ट्रेडमार्क प्रयोग गरेर लुब्रिकेन्ट उत्पादन थालेका हौँ,” खनालले भने । लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय प्रयोग गरेको खनालले बताए ।

धनुषाको ढल्केवरमा ब्लेन्डिङ प्लान्ट स्थापना गरेको युनाइटेड लुब्रिकेन्टले यसअघि स्वदेशी ब्रान्ड नेपाल गोल्डलाई बजारमा ल्याइसकेको छ । सोही प्लान्टबाट अब भिडोल लुब्रिकेन्ट समेत उत्पादन गर्न सुरू गरेको कम्पनीले जनाएको छ । यो लुब्रिकेन्ट यसअघि भारतबाट आयात हुँदै आएको थियो । विदेशी ब्राण्डको रजगज चलिरहँदा विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्राण्ड ‘भिडोल’ स्वदेशी उत्पादनमा राम्रो पकड जमाउन सफल हुने दाबी कम्पनीको छ । नेपाली लुब्रिकेन्टले आफ्नो विस्तार गरे पनि अझै विदेशी ब्रान्डको प्रभुत्व रहेको छ । अन्य नेपाली ब्राण्डसँगै भिडोलले क्यास्ट्रोल, टोटल, सर्वो, मोबिल, गल्फ आदि प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

धनुषा प्लान्टमा ५० करोडको लगानी, यस्तो छ संरचना
युनाइटेड लुब्रिकेन्टले कूल ५० करोड लगानीमा धनुषाको मिथिलानगर नगरपालिकामा लुब्रिकेन्ट उत्पादनको प्लान्ट स्थापना गरेको हो । लुब्रिकेन्टको कच्चापदार्थ स्टोरेज, प्रोसेसिङ, प्याकेजिङ तथा स्टोरेजसहितको वृहत प्लान्टमा छुट्टाछुट्टै गरी कम्पनीले कूल २ हजार ४०० किलोलिटर लुब्रिकेन्ट स्टोरेज ट्याक स्थापना गरेको छ ।

मुख्य प्लान्ट ३८ हजार ४२५ वर्गमिटर क्षेत्रफलमा रहेको छ भने कच्चापदार्थ स्टोरेजका लागि ६ हजार ७९३ वर्गफिट, बोइलर क्षेत्रका लागि ४ हजार ७४४ वर्गफिट, वाइरहाउस क्षेत्र ३८ हजार ४२५ वर्गफिट र रेसिडेन्ट तथा सेकुरिटी कोलोनी क्षेत्र ४ हजार १०० वर्गफिट गरि कूल १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा प्लान्ट स्थापना गरी विभिन्न इन्जिन आयल, ग्रिज तथा लुब्रिकेन्ट उत्पादन थालनी गरिएको कम्पनीले जनाएको छ ।

सन् २०२१ बाट फ्याट्री निर्माणको थालनी गरेको कम्पनीले तीन वर्षपछि सन् २०२४ मा औपचारिक उद्घाटन गरेको हो । मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लुब्रिकेन्ट फ्याट्रीको औपचारिक उद्घाटन हुन् । कम्पनीले मासिक १० लाख लिटर लुब्रिकेन्ट उत्पादन क्षमता रहेको प्लान्टमार्फत हाल दैनिक ३३ हजार लिटर लुब्रीकेन्ट उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । प्लान्टबाट दैनिक सिफ्ट अनुसार १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार केजी ग्रिज उत्पादन गर्दै आएको छ ।

विश्वका ७५ भन्दाबढी देशमा उपस्थिति रहेको भिडोल विश्वका १८ वटा स्थानबाट उत्पादन हुँदैआएको छ भने पछिल्लो पटक नेपालबाट समेत यसको उत्पादन सुरू गरिएको हो । अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो । भिडोल नेपालमै उत्पादन हुने गल्फ पछिको दोस्रो बहुराष्ट्रिय ब्रान्ड बनेको छ । भिडोल लुब्रिकेन्ट नेपाली बजारमा भने सन् २०१२ देखि नै उपलब्ध छ । तयारी लुब्रिकेन्ट आयात गरिरहेको भिडोलको अब बजारमा उपलब्ध हुने उत्पादन नेपालबाटै उत्पादित हुनेछन्।

विद्युतीय सवारीले बजार घट्ने डर

सरकारले विद्युतीय सवारी आयातमा पेट्रोलियम सवारीको तुलनामा कर सहुलियत दिएको र वार्षिक नवीकरण शुल्क पनि कम दिदैँ आउँदा विद्युतीय सवारीप्रति आकर्षण बढ्दो छ । जसको मार पेट्रोलियम सवारीमा प्रयोग हुने लुब्रिकेन्टदेखि स्पेयर पार्टसको बजारमा परेको व्यवसायीहरूको गुनासो छ। गत भदौ ११ देखि १६ गतेसम्म चलेको नाडा अटो शो २०२४ मा समेत विद्युतीय सवारीको रजगज नै देखिएको थियो । यो माहोलले पनि पेट्रोलियम सवारी साधनमा प्रयोग हुने लुब्रीकेन्टको बजारलाई समेत विद्युतिय सवारी आकर्षणले प्रभावित हुने डर व्यवसायीमा देखिएको हो।

सरकारले कर नीतिमा सहुलियत दिएपछि विद्युतीय सवारी साधनको बिक्री बढ्दो छ । पछिल्लो समय बिक्री हुने कुल सवारी साधनमध्ये ६५ देखि ७० प्रतिशत बजार हिस्सा विद्युतीय सवारी साधनको रहेको बताइन्छ । उसो त सरकारले विद्युतीय गाडीको प्रोत्साहनका लागि भन्दै भन्सार तथा अन्तःशुल्कमा २०० प्रतिशतसम्म छुट दिदाँ आर्थिक वर्ष २०८०\८१ मा राजस्वको ठुलो हिस्सा गुम्न पुगेको छ । सो वर्षमा ११ हजार ७ सय वटा विद्युतीय गाडी (कार, भ्यान, जिप)आयात भएका छन् । यो हालसम्मकै उच्च आयात हो ।

चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो महिना साउनमा ३८४ युनिट विद्युतीय गाडी भित्रिएका छन् । जसले गर्दा पेट्रोलियम सवारीको आयात केही हदसम्म खुम्चिएको छ । सो विषयमा भिडोल इन्टरनेशनल युकेका डाइरेक्टर अरिजित वासुले नेपालमा विद्युतीय सवारी साधनको आयात बढ्नु सकारात्मक रहेको बताए । उनले विद्युतीय सवारीको प्रयोग विश्वभर बढ्दै गएकाले नेपालमा पनि यसको प्रयोग बढ्नु सकारात्मक रहेको र यसले लुब्रिकेन्टको बजारलाई प्रभावित नपार्ने दाबी गरे ।

वासुका अनुसार कम्पनीले विद्युतीय गाडीमा प्रयोग हुने आयल उत्पादनमा अध्ययन गरिरहेका पनि जानकारी दिए । उनले भने, “विश्वभरि प्रविधिको प्रयोग बढ्दै गएको छ । विद्युतीय सवारी पनि एउटा प्रविधि हो । त्यसले केही कुरालाई हटाउँछ र केही नयाँ प्रविधिलाई प्रवेश गराउँछ । नेपालको अवस्थामा यसमा थोरै फरक छ ।” उनले लुब्रिकेन्ट बजारलाई कुनै पनि नोक्सान नहुने बताउँदै एकतर्फ नोक्सान हुँदा अर्को तर्फ अवसर बनेर आउने बताउँदै भिडोलले नेपालमा राम्रो बजार विस्तार गर्ने दाबी गरे ।

अवैद्य आयात नै ’टाउको दुखाइ’

नेपाल अझै पनि ‘इन्टरनल कम्बसन इन्जिन (आइसिई)’बाट सञ्चालित सवारी साधनहरूको बजार सम्भावना भएको मुलुक रूपमा मानिन्छ । यस्ता सवारी साधनमा इन्जिनलाई सहज तरिकाले चलाउन आवश्यक पर्ने लुब्रिकेन्टका लागि नेपाल आकर्षक बजार हुँदै आएको छ तर खुल्ला सिमानाबाट अवैद्य रूपमा आयात हुने लुब्रिकेन्ट व्यवसायीहरूको लागि टाउको दुखाइको विषय बन्दै गएको छ ।

व्यवसायीका अनुसार मुलुकमा तीन किसिमले स्पेयर पार्ट्स आयात हुन्छ । पहिलो गाडी आयातकर्ताले नै ल्याउँछन् । अर्को खुला बजार भएकाले अन्यले पनि वैधानिक्अवैधानिक दुवै बाटोबाट ल्याउँछन् । तेस्रो पूरै भन्सार छलेर मुलुक भित्रिन्छ । युनाइटेड लुब्रिकेन्टका जनरल म्यानेजर खनालले लुब्रिकेन्ट करिब ३० देखि ३२ प्रतिशत नेपालमै उत्पादन हुने बताए ।

कस्को बजार हिस्सा कति ?

बढ्दो सवारीको आयातसँगै लुब्रिकेन्टको खपत पनि बढेको तथ्याङ्कले देखाउँछ । नेपाली बजारमा स्वदेशी मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गुणस्तरीय लुब्रिकेन्टको सहज उपलब्धता भएको छ । नेपाली बजारमा ६० भन्दा बढी ब्रान्डका लुब्रिकेन्ट उपलब्ध छन् । पिएलओ, कन्ट्रोल एमबी ल्युब र सुपरब, युनाइटेड जस्ता घरेलु ब्रान्डहरू नेपाली बजारका मुख्य खेलाडी हुन् । विस्तारै सवारी साधनको ब्रिकी बढेसँगै यसको बजार पनि बढेको छ । पूर्वाञ्चल ल्युब आयलले पिएलओ लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ भने कन्ट्रोल, एमबी ल्युब र सुपरब क्रमशः फुजिमा आयल कम्पनी, एमबी पेट्रोल्युब इन्डस्ट्रिज र सुपरब ल्युबले पनि उत्पादन गर्दै आएका छन् ।

पछिल्लो समय नेपाल ल्युब आयलको वार्षिक कारोबार १ अर्ब २० करोड रुपैयाँ बराबरको छ । यो कम्पनीले हाल वार्षिक ३ हजार किलोलिटर लुब्रिकेन्ट बिक्री गर्दै आएको छ । कम्पनीले आफ्नो बजार हिस्सा २८ प्रतिशत रहेको दाबी गर्छ । यो कम्पनीले गल्फ लुब्रिकेन्ट उत्पादन गर्छ । यसैगरी, फुजिमा आयल कम्पनीले आफ्नो बजार हिस्सा २६ प्रतिशत दाबी गर्छ । वार्षिक २ हजार ५ सय किलोलिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको कम्पनीले गत वर्ष १ अर्व रुपैयाँ बराबरको कारोबार गरेको थियो । पूर्वाञ्चल ल्युब आयलले आफ्नो बजार हिस्सा २० प्रतिशत रहेको बताउँछ । २ हजार किलोलिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको यस कम्पनीले हाल करिब ८० करोडदेखि १ अर्ब बराबरको कारोबार गरिरहेको छ ।

यसैगरी अन्य साना कम्पनीहरूको बजार हिस्सा ६ प्रतिशत छ । जसमा स्मार्ट लुब्रिकेन्ट, बतासको बीटीएस पेट्रोलियम, नेपाल गोल्ड, मोटोरोल लुब्रिकेन्ट लगायतका कम्पनीहरू छन्, जसको वार्षिक कारोबार २५ करोडदेखि ३० करोडको अनुमान छ ।
युनाइटेड लुब्रिकेन्ट प्रालिका कार्यकारी निर्देशक दिपेन्द्र मिश्रले बजारमा स्वदेशी ब्रान्डको उपस्थिति बढ्दै गएको र जसले आयातित लुब्रिकेन्टमाथिको निर्भरता घटाउन मद्दत गरेको बताए । लुब्रिकेन्टको बोतल र प्याकेजिङबाट मात्रै सञ्चालनमा आएका स्वदेशी उद्योगहरूले अहिले आफ्नो गतिविधिलाई विस्तार गर्ने प्रयास गरिरहेका छन् ।