दश वर्षमा सहकारी ठगीः २५८ सहकारीविरुद्ध उजुरी, १५ सय ४० फरार


काठमाडौँ । पछिल्लो एक दशकमा सहकारी संस्थामा देखिएका आर्थिक अनियमितता र ठगीका घटना वृद्धि भएको छ । जसका कारण देशभरका सयौं सहकारी संस्थाहरू विरुद्ध उजुरी परेका छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा देशभर २५८ सहकारी संस्थाहरूविरुद्ध ठगी र रकम हिनामिनाको आरोपमा उजुरी दर्ता भएको छ। उजुरी परेका घटनामा अहिलेसम्म ६६९ व्यक्तिहरूलाई पक्राउ गरिएको छ भने १५४० जना सहकारी सञ्चालकहरू फरार रहेको जनाइएको छ।

प्रादेशिक रूपमा हेर्दा, कोशी प्रदेशमा ३४, मधेशमा २७, बागमतीमा १८, गण्डकीमा २०, लुम्बिनीमा १८, कर्णालीमा ६, र सुदूरपश्चिम प्रदेशमा ८ सहकारी संस्थाहरूमाथि मुद्दा दर्ता भएको छ। काठमाडौँ उपत्यकामा भने सबैभन्दा धेरै १०७ वटा सहकारी संस्थाहरूविरुद्ध उजुरी परेको छ, जुन समग्र घटनाको सबैभन्दा ठूलो हिस्सा हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा मात्रै २० सहकारी संस्थासम्बन्धी मुद्दा दर्ता भएका छन्, जसमा संलग्न १२७ जना अझै फरार रहेका छन्।