दोर्दी खोला जलविद्युतको आईपीओ खुला


काठमाडौं । आजदेखि दोर्दी खोला जलविद्युतको आईपीओ खुला भएकाे छ । कम्पनी आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १७ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसका साथै मेरो शेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ।