बाढी-पहिरो वितण्डा: यस्ता छन् यातायात व्यवस्था विभाग मार्फत गरिएका प्रयास र उपलब्धि


काठमाडौँ । गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभरका राजमार्गहरूमा बाढी र पहिरोको कारण यातायात अवरुद्ध भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको विवरणअनुसार, ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गएकोमा हालसम्म ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको छ। यस कार्यमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्तिको प्रयोग गरिएको छ।

बाढी र पहिरोका कारण यातायात क्षेत्रमा भएको अस्तव्यस्तता समाधान गर्न यातायात व्यवस्था विभाग मार्फत विभिन्न प्रयास गरिएकाे मन्त्रालयले जनाएको छ। पहिला, बाढी र पहिरोमा अलपत्र परेका यात्रु तथा यातायात मजदुरहरूको उद्धारका लागि गृहमन्त्रालयसँग पत्राचार गरिएको छ। दोस्रो, जोखिम र दुर्घटनालाई कम गर्न यात्रुहरूलाई यात्रा नगर्न वा सावधानी अपनाउन अनुरोध गरिएको मन्त्रालयका सचिव केशव कुमार शर्माले जनाकारी दिए ।

यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङमा समन्वय गरिएको छ। साथै, विपद् र सडकको अवस्थाबारे ताजा जानकारी नेपाल प्रहरीको फेसबुक पेजमार्फत उपलब्ध गराउन आग्रह गरिएको र काठमाडौंबाट छुट्ने बसहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न विशेष ध्यान दिइएको मन्त्रालयका सचिव शर्माले बताए ।

असोज १४ गतेदेखि कोजाग्रत पूर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको छ, जसमा सवारी साधनमा प्राथमिक स्वास्थ्य सामग्री र खानेकुराको व्यवस्था गर्न अनुरोध गरिएको छ। उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्षको व्यवस्था पनि गरिएको छ।

सडकको अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित रुटमा अग्रिम टिकट बुकिङ गर्न यातायात व्यवसायीहरूलाई आग्रह गरिएको छ। समस्याहरूको तत्काल समाधानका लागि कूइक रेस्पोन्स टिम गठन गरिएको छ, जसको समन्वय नेपाल प्रहरी प्रधान कार्यालयले गर्ने निर्णय भएको छ। यी प्रयासहरूले बाढी र पहिरोका कारण उत्पन्न भएको यातायात समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेलेको मन्त्रालयले जानकारी दिएको छ।