मलको अभावबारे संसदले सरकारको ध्यानकर्षण गरायो


काठमाडौं । मलको अभावबारे संसदले सरकारको ध्यानकर्षण गराएको छ । प्रतिनिधि सभामा सांसदहरुले कृषकहरुले मल नपाएको गुनासो गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रालय र सरकारको ध्याकर्षण गराएका हुन् ।

उनले भने,“ खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको भएको कुरामा मेरो ध्यानकर्षण भएको छ । यथासिघ्र कृषकहरूलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्याकर्षण गराउँदछु ।”

सरकारले अनुदानको रासायनिक मल उपलब्ध गराउँदै आए पनि हरेक वर्ष सिजनमै मल अभाव हुँदै आएको छ । यो वर्ष पनि धान रोप्ने सिजन सुरु भइरहँदासमेत देशभर मल अभाव हुन थालेपछि सडदेखि सदनसम्म सरकारको आलोचना हुन थालेको हो।

कृषि विकास मन्त्रालयको नेतृत्वमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले अनुदानको मल आपूर्ति गर्दै आएका छन् । ठेक्का पर्ने समयमा एउटा मूल्य र खरिद गर्दा मूल्य बढ्ने गरेकाले ठेकेदारहरुले पटक पटक ठेक्का रद्द गरेका कारण मल अभाव भएको मन्त्रालयको भनाइ छ ।

यो वर्ष पनि मन्त्रालयको चर्को आलोचना भएपछि कृषि मन्त्री महिन्द्र राय यादव आफै भारत पुगेर मल आयातको पहल गरेका छन् । जिटूजी सम्झौता अनुरुप भारतबाट मल आयात समयमा हुनुपर्नेमा नभएपछि यादवले पहल थालेको बताए ।

अर्कोतिर चीततर्फबाट ल्याउन थालिएको मलसमेत लामो समय नाकामै रोरिहेको अवस्था छ । मन्त्रालयको नाममा मल खरिद गर्न वर्षेनी १५ अर्ब रकम विनियोजन हुँदै आएको छ ।