यातायात सम्बन्धी सबै काम प्रदेश सरकारले गर्नुपर्छः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातसम्बन्धि सम्पूर्ण काम प्रदेश सरकारले गर्नुपर्ने बताएका छन् ।

आइतवार काठमाडौँमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले यातायात सम्बन्धि सम्पूर्ण अधिकार संविधानले प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै सोही अनुसार सम्पादन गर्नुपर्ने बताएका हुन् । मन्त्री दाहालले संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकारहरूले आफ्नो अधिकार खोज्ने काममा ढिलाई गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले स्मार्ट लाईसेन्स कार्ड उत्पादन र वितरणको काम पनि प्रदेश सरकारमार्फत हुने बताए । संघीय सरकारले आफ्नो दायित्व पूरा गरेपनि लाईसेन्स कार्ड वितरण गर्ने काम अब प्रदेश सरकारले जिम्मेवार भएर गर्नुपर्ने मन्त्री दाहालको भनाइ थियो । उनले प्रदेश सरकारले अझै पनि आफ्नो अधिकार खोज्ने मामिलामा पछि परेको पनि बताए ।

त्यस अवसरमा मन्त्री दाहालले सरकारले अझै पनि स्मार्ट लाईन्सेन्स कार्ड वितरण गर्न नसकेकोमा अफठ्यरो महशुस भएको अनुभुति पनि सुनाए ।