भारतीय अटोमोबाइल निर्यातमा १४ प्रतिशत वृद्धि, २५ लाखभन्दा बढी गाडी बिक्री


काठमाडौँ । भारतीय अटोमोबाइल निर्यातमा गत वर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भएको छ, जसले विश्वभर भारतीय गाडीहरूको माग पुनः बढ्दो अवस्थामा रहेको देखाएको छ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) को पछिल्लो रिपोर्ट अनुसार अप्रिलदेखि सेप्टेम्बरसम्म भारतीय कम्पनीहरूले विदेशी बजारमा २५ लाख २८ हजार २४८ सवारीसाधन बिक्री गरेका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिमा २२ लाख ११ हजार ४५७ मात्र थियो।

भारतीय कार निर्माता मारुती सुजुकीले निर्यातको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको छ। कम्पनीले अप्रिलदेखि सेप्टेम्बरसम्म १ लाख ४७ हजार ६३ गाडी निर्यात गरेर शीर्ष स्थानमा रहेको छ। अघिल्लो वर्षको तुलनामा यो १२ प्रतिशतको वृद्धि हो । कम्पनीले अघिल्लो वर्ष साेही समयमा १ लाख ३१ हजार ५ सय ४६ गाडी निर्यात गरेको थियो।

दुई पाङ्ग्रे सवारीसाधनको निर्यात पनि उत्साहजनक देखिएको छ। अप्रिलदेखि सेप्टेम्बरसम्म यो संख्या १६ प्रतिशतले बढेर १९ लाख ५९ हजार १४५ पुगेको छ। दुई पाङ्ग्रे सवारीसाधन तर्फ स्कुटर निर्यातमा उल्लेखनीय वृद्धि देखिएको छ, जसमा यो १९ प्रतिशतले बढेर ३ लाख १४ हजार ५३३ युनिट पुगेको हो।

तर, हुन्डाई मोटर इन्डियाको निर्यातमा भने गिरावट देखिएको छ। अप्रिलदेखि सेप्टेम्बरसम्म कम्पनीले ८४ हजार ९०० युनिट सवारीसाधन निर्यात गरेको छ, जुन अघिल्लो वर्ष ८६ हजार १०५ युनिटभन्दा १ प्रतिशत कम हो।