-गोपालकृष्ण तिमिल्सिना-
नेपालको अर्थतन्त्र विकासशील र सानो अर्थव्यवस्था हो । नेपालको आर्थिक संरचना कृषिमा आधारित छ । नेपालमा परम्परागत रुपले चल्दै आएका साना तथा कुटिर उद्योगहरु नै अर्थतन्त्रका मेरुदण्डको रुपमा रहँदै आएका छन् ।
नेपाल जस्ता विकासशील देशहरूमा साना तथा मझौला उद्योगहरू (एसएमईहरू) आर्थिक विकासको मेरुदण्डका रूपमा रहँदै आएको छ । नेपालमा एसएमईहरूको अवस्थालाई हेर्दा, अधिकांश एसएमईहरू कृषि, हस्तकला, साना उत्पादन तथा निर्माण, सेवा, र खुद्रा व्यापारमा केन्द्रित छन् ।
सरकारको तथ्याङ्कअनुसार, नेपालमा दर्ता गरिएका कुल उद्योगहरूको ९८.५ प्रतिशतभन्दा बढी एसएमईहरूले ओगटेका छन् । यी एसएमईहरूले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा लगभग २५ प्रतिशत योगदान पुर्याउँछन् जसले देशको निजी क्षेत्रको कुल रोजगारीको ८३ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ ।
नेपालमा एसएमईहरूको सबैभन्दा ठूलो योगदान रोजगारी सिर्जनामा छ । नेपालजस्तो विकासशील अर्थतन्त्रलाई बलियो बनाउन यस्ता व्यवसायहरूको महत्व ठूलो हुने गर्दछ, जसले मुलुकबाट श्रमशक्ति अत्यधिक बहिर्गमनलाई कम गर्न सहयोग पुर्याउँदै आएको छ ।
यसरी हेर्दा साना तथा मझौला उद्योगहरूको तथा व्यवसायहरुले हामीलाई हाम्रो देशको अर्थ प्रणालीलाई धान्दै आएको देखिन्छ त्यसैले अब हामीले ठूला उद्योगहरूको बारेमा मात्र चर्चा गर्नुभन्दा देशको आर्थिक प्रणाली हाकिरहेका यस्ता उद्योग तथा व्यवसायहरूको संरक्षण र प्रवद्र्धनका लागि सोच्नुपर्ने बेला आएको छ । किनभने नेपाली अर्थतन्त्रको विशेषता अनुसार हामी अहिले ठूला उद्योगहरुमा लगानीका लागि देशभित्र धेरै ठूलो पुँजीको उपलब्धता छैन भएको ससानो पुँजीहरुले उद्योगधन्दा र व्यापार व्यवसाय सञ्चालन गरी अर्थतन्त्रको विस्तारमा योगदान पुर्याउन सक्ने क्षेत्रहरूको पहिचान गर्नुपर्दछ ।
नेपालबाट विभिन्न खालका रोजगारीका लागि हरेक दिन १७०० देखि २००० जनासम्म नेपालीहरू विदेशीने गरेका छन् र उनीहरुले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिरहेको देखिन्छ । रेमिट्यान्सको आय सँगसँगै देशभरि यतिबेला साना तथा मझौला उद्योग व्यवसाय गर्ने व्यवसायीहरूको संख्या पनि व्यापक रुपमा बढेको छ । आफ्नै घर वा नजिकको टोलछिमेकमा सटर उद्योग व्यवसाय गर्दै आउनुभएको देशभरिका खासगरी महिला दिदीबहिनीहरूले देशको आर्थिक प्रणालीमा नै योगदान पुर्याउनु भइरहेको छ ।
उहाँहरुले आफ्नो स्वरोजगार सिर्जनाबाहेक कम्तिमा दुई तीन जनादेखि १० जनासम्मलाई रोजगारी दिनुभएको छ भने अर्कातिर राजस्व मार्फत देशलाई योगदान दिइरहनु भएको छ । स्वरोजगारको यो प्रवृत्तिलाई गहन रुपमा अध्ययन गरेर अब नीति निर्माताहरुले साना तथा मझौला उद्योग व्यवसायहरूको संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक नीतिगत निर्णय गर्नुपर्ने बेला भइसकेको छ ।
नेपालमा अधिकांश साना तथा मझौला उद्योग तथा व्यवसायहरू (एसएमई) ग्रामीण क्षेत्र तथा नगरोन्मुख क्षेत्रहरूमा छन् जहाँ अधिकांश जनशक्ति कृषिमा संलग्न छन् । यसरी हेर्दा एसएमईहरूले नेपालको आर्थिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि ठुलो प्रभाव पारिरहेका छन् । किनकी यसका माध्यमबाट सामाजिक सशक्तिकरण भइरहेको छ ।
ती व्यवसायहरूले स्थानीय माग र उपभोगमा केन्द्रित भइ आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ, जसले नेपालको विकासशील अर्थतन्त्रलाई सुदृढ बनाउन सहयोग पु¥याउँछ । उत्पादनको स्थानीयकरण गर्दा आयातमा निर्भरता घटाउने सकिन्छ जसले नेपालको व्यापार घाटा पनि कम गर्न योगदान दिन्छ भने स्थानीय स्तरको उत्पादनलाई प्रभावकारी बजारीकरण गर्दै अन्तर्राष्ट्रिय बजारमा निर्यातको विकल्प पनि खोज्न थालिएको छ ।
उद्योग विभागका अनुसार आव २०७९/८० सम्म ६ लाख ५८ हजार ८६२ वटा घरेलु तथा साना उद्योगहरू दर्ता रहेकोमा विभिन्न कारणहरूले ६९ हजार घरेलु तथा साना उद्योगहरू बन्द भइ हाल ५ लाख ८९ हजार ८५४ वटा नवीकरण भइ सञ्चालनमा रहेका छन् । २०७५ सालमा सम्पन्न भएको पहिलो राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजाअनुसार नेपालमा सञ्चालित प्रतिष्ठानहरूको संख्या ९ लाख२३ हजार ३५६ रहेको छ ।
यसमध्ये ४ लाख ६२ हजार ६०५ प्रतिष्ठानहरू दर्ता भएका (५०.१प्रतिशत) र ४ लाख ६० हजार४२२ प्रतिष्ठानहरू दर्ता नभएका (४९.९ प्रतिशत) र दर्ता स्थिति नखुलेका ३२९ (०.०४ प्रतिशत ) सञ्चालनमा रहेको देखिन्छ । यी व्यावसायिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूमध्ये थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रमा४ लाख ९८ हजार ०६८ व्यवसायहरू रहेका थिए । संलग्न जनशक्तिको आकारमा २० जनाभन्दा कमलाई साना तथा मझौला उद्योग तथा व्यापार–व्यवसायमा मान्दा ९८.३ प्रतिशत व्यवसायहरू यस्तो प्रकृतिको देख्न सकिन्छ ।
वास्तविकतामा हेर्ने हो भने यो तथ्यांकभन्दा निकै गुणा बढी साना तथा मझौला व्यापार–व्यवसाय तथा उद्योगहरू देशभरि खुलेका छन् । जसमा लगभग ५० लाख नेपाली प्रत्यक्ष रूपमा स्वरोजगार पाएको अथवा रोजगारी पाएको अवस्था छ ।
सबैभन्दा उल्लेख गर्नैपर्ने विषय भनेको देशभरिका ४१.८४ प्रतिशत व्यापार–व्यवसाय आफू बसोवास गर्ने घरमा नै सञ्चालन हुने गरेको छ भने ३५.०५ प्रतिशत व्यापार–व्याावासाय आफ्नो वासस्थान भन्दा फरक स्थानमा, ७.३०प्रतिशत परम्परागत बजारमा, ३.६९प्रतिशत बाटो, सडकमा सञ्चालन भइरहँदा २.२५ प्रतिशत मात्र आधुनिक व्यापार मलमा सञ्चालन र ६.३२ प्रतिशत एउटै ठूलो ब्लक वा कम्पाउण्डमा सञ्चालन हुने गर्दछन् ।
यसले पनि आफ्नै घरमा सटर राखेर व्यापार–व्यवासाय सञ्चालन गर्ने वा टोलछिमेकमा अथवा नजिकैको टोल वा बजार क्षेत्रमा गइ व्यावसाय सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गइरहेको देखाउँदछ । यसले देशभित्र एकतिर उद्यमशीलता बढ्दै गइरहेको छ भने रोजगारी सिर्जनामार्फत् अर्थतन्त्रको विविधीकरण गर्नमा मद्दत पनि पुगेको छ । थोक तथा खुद्रा बिक्रीको योगदान र हिस्सा बढ्दै जाँदा कृषिमा आश्रित नेपाली अर्थतन्त्रको परिवर्तन भइरहेको भन्ने विश्व बैंकको अध्ययनले पनि देखाएको छ ।
साना तथा मझौला उद्योगहरूको विस्तार त भएको छ, अर्को चिन्ताको विषय भनेको यस्ता व्यवसायीहरूलाई व्यावसाय विकास, बजारीकरण तथा प्रबद्र्धनका लागि आवश्यक तालिम तथा मार्गदर्शन भने पुग्न सकेको छैन । सँगसँगै जोडिएको कुरा उनीहरूलाई वित्त पहुँच पनि कम छ । आफूसँग भएको थोरै पुँजी, परिवारको बचत, साथीभाइ वा आफन्तसँगको ऋण सापटीबाट साना तथा मझौला उद्योग तथा व्यापार सञ्चालन गर्दै गएका यस्ता उद्यमी तथा व्यावसायीहरूलाई व्यवसाय विस्तार गर्नका लागि चालु पूँजीको अभाव हुने गरेको छ । जसको समाधानका लागि सरकारले सरल वित्त पहुँचको नीति बनाउनु पर्दछ ।
इकमर्शको उपयोग
नेपालमा साना व्यावसायीहरूले आफ्नो व्यावसायिक गतिविधि विस्तारका लागि इकर्मको राम्रैसँग उपयोग गर्न थालेका छन् । परम्परागत व्यापारमा भन्दा प्रचारप्रसारमा कम खर्च हुने तथा ग्राहकसँग सजिलै पुग्न सकिने भएकाले साना उद्यमी र व्यावासायीका लागि इकमर्शले महत्वपूर्ण सहयोगी भूमिका खेल्दछ ।
सामाजिक सञ्जालको प्रभाव
इकमर्श कम्पनीसँग विभिन्न कारणले पहुँच कम भएको र विभिन्न कारणले तिनको उपयोग गर्ने उपभोक्ताको पनि अभिरूचि कम भएको अवस्थामा फेसबुक, इन्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालहरूमार्फत साना व्यवसायहरूले सीमित बजेटमा आफ्नो व्यवसाय प्रब द्र्धन तथा ब्रान्डको पहिचान स्थापित गर्न सफल भएका छन् ।
टिकटकको बढ्दो प्रयोग
सामाजिक सञ्जालहरूमध्ये पनि नेपालका धेरै साना तथा मझौला व्यावसायीहरूले टिकटकलाई आफ्नो व्यावसाय प्रबर्धनका रूपमा निकै रुचिकर र प्रभावकारी रूपमा प्रयोग गर्दै आउनु भएको छ । टिकटकजस्तो छोटो भिडियो प्लेटफर्मले एसएमईहरू लाई आफ्ना उत्पादनहरूलाई आकर्षक र रचनात्मक तरिका तरिकाले प्रस्तुत गर्न सहयोग पुर्याउँदै आएको छ ।
नेपालमा कोभिड–१९ महामारीपछि टिकटकको प्रयोग तीव्र गतिमा बढिरहेको छ, विशेष गरी युवा पुस्तामा यसको लोकप्रियता छ। यो प्लेटफर्म मनोरञ्जनको साधन मात्र नभई व्यक्तिगत ब्रान्डिङ, व्यवसाय प्रवद्र्धन, र सांस्कृतिक अन्तरक्रियाको महत्त्वपूर्ण माध्यम बन्दै गएको छ । स्टार्ट.आइओको तथ्यांकअनुसार नेपाल सरकारले प्रतिबन्ध लगाउनु अघि नेपालमा करिब २२ लाख जनाले टिकटक प्रयोग गर्दै आएकोमा हाल यो संख्या १३ लाखमा सीमित भएको छ, यद्यपि सर्तसहित प्रतिबन्ध फुकुवापछि पुनः वृद्धि हुने क्रमा छ । जसमा करिब ४६.८ प्रयोगकर्ता १८–३४ वर्ष उमेर समूहका छन् भने २५.३४ वर्षका प्रयोगकर्ताहरूको हिस्सा ४७.५ प्रतिशत रहेको छ। यसरी कुल प्रयोगकर्ताको लगभग ७३ प्रतिशत युवा रहनुले नेपालमा यो प्लेटफर्मको सम्भाव्यता उजगार गर्छ ।
नेपालमा टिकटकका प्रयोगकर्ता गाउँदेखि सहरसम्म सर्वत्र फैलिएका छन् । पहाडको उच्च दुर्गम ठाउँदेखि काठमाडौंका सुविधासम्पन्न स्थानहरूसम्म विभिन्न व्यक्तिले टिकटकमार्फत् सासाना भिडियोदेखि सन्देशमूलक सामग्रीहरूसमेत अपलोड गरिरहेको देखिन्छ ।कुनै पनि क्षेत्र पूर्ण समस्यामुक्त हुनसक्दैन । नेपालजस्तो प्रविधिको भरखर भरखर विकास भइरहेको देशमा सामाजिक सञ्जालहरूमा केही विकृति नदेखिएका भने होइनन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नियमाकीय तहबाट पनि निरन्तर उपस्थिति र प्रभावकारी अनुगमनको आवश्यकता हुन्छ । पछिल्लो समयमा ग्राहकको डाटा चोरी, गोपनीयता उल्लङ्घन, र फिसिङ जस्ता साइबर अपराधहरूको जोखिम बढ्दो छ । यसका लागि सरकारले साइबर सुरक्षाको बलियो प्रबन्धसँगै व्यक्तिगत गोपनियताको सुरक्षा र साइबर अपराध नियन्त्रणका सन्दर्भमा प्रभावकारी उपायहरू अबलम्बन गर्न सकेमा आगामी दिनहरूमा टिकटकजस्ता सामाजिक सञ्जालको अधिकतम उत्पादक प्रयोग गर्न सकिने सम्भावना छ ।
खासगरी एसएमईहरूको प्रविधिमा प्रयोग पहुँच र त्यसको उपयोगिता बढाउन टिकटक, फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जाल कम्पनीहरूको नेपालमा दर्ता र कर राजस्व बुझाउनु पर्ने जुन व्यवस्था गरियो, त्यससँगै उनीहरूलाई जिम्मेबार ढंगले उद्यमशीलता बढाउन हातेमालो गर्नुपर्दछ । प्रविधिको विकास र विस्तारबाट हामी अलग रहन सक्दैनौं । सामाजिक सञ्जालमा गलत जानकारी र असुरक्षित सामग्री फैलिने समस्याले समाजमा गलत सन्देश फैलिने जोखिम बढ्दै गएको छ । नेपालमा यसबारे चेतनाको कमी भएका कारण यो चुनौतीको रूपमा देखा परेको हो । त्यसैले यसको जिम्मेवार उपयोग कसरी बढाउने भन्ने कुरामा प्रयोगकर्तासम्म सचेतना बढाउनु पनि पर्दछ । यसमा सबैको उत्तिकै बराबरी दायित्व र जिम्मेवारी छ ।
(तिमिल्सिना चर्चित टिकटकर हुन् । टिकटकमा उनी गोपाल कृतिको नामबाट परिचित छन्।)
प्रतिक्रिया दिनुहोस्