दूध र दुग्ध पदार्थको आयात फुकुवा नगर्न डेरी एसोसिएसनको सरकारलाई आग्रह


काठमाडौँ । डेरी क्षेत्रका सरोकारवालाहरूले नेपालमा दूध तथा दुग्ध पदार्थको आयात खोल्न नहुने भन्दै सरकारलाई आग्रह गरेका छन्। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आज (मंगलबार) एक प्रेस विज्ञप्ती जारी गर्दै डेरी क्षेत्रले लामो समयदेखि विभिन्न समस्याको सामना गर्दै आएको र यस्तो अवस्थामा आयात खोल्नु नेपाली दुग्ध किसान र उद्योगलाई थप संकटमा पुर्‍याउने दाबी गरेका छन् ।

“२०७२ सालको भूकम्प, २०७५ र ०७६ को कोभिड महामारी, २०७९ र ०८० को लम्की स्किन डिजिज, आर्थिक मन्दी, हालसालैको बाढी पहिरो लगायतका कारणले डेरी उद्योग थलिएको छ। यससँगै दूधको खपत घट्दै जाँदा उद्योगले किसानलाई समयमा भुक्तानी दिनसमेत नसकेको अवस्था छ,” विज्ञप्तीमा भनिएको छ ।

दाहालले सरकारलाई दूध तथा दुग्ध पदार्थको आयात बन्द गरेको नीतिलाई यथावत् राख्न अनुरोध गरेका छन्। हालै आएका समाचारअनुसार, आयात खोल्न दबाब बढिरहेको भन्दै उनले यसले नेपाली उत्पादनलाई विस्थापित गर्ने र दुग्ध किसानहरूलाई पेसाबाट पलायन गराउने खतरा रहेको बताएका छन्। “नेपालमा हालै साउन महिनामा मात्र ४८ हजार केजी बटर, ८ हजार ५० केजी चिज, र १२ हजार ६ सय केजी अन्य डेरी जन्य पदार्थ आयात भएको छ, जुन चिन्ताजनक हो,” विज्ञप्तीमा उल्लेख गरिएको छ।

डेरी उद्योगमा ५० अर्ब रुपैयाँभन्दा बढी निजी लगानी रहेको र ६ लाख कृषक परिवारले यसबाट प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको तथ्य उल्लेख गर्दै दाहालले भनेका छन्, “स्वदेशी बजारलाई पुनः सन्तुलित नगरेसम्म र डेरी उद्योगको उत्पादन खपत नहुँदासम्म आयात खोल्नु आत्मघाती हुनेछ।”

डेरी उद्योगका प्रतिनिधिहरूले आयात खोल्ने योजनाले नेपालमा दुग्ध उत्पादक किसानहरूलाई ठूलो असर पार्ने भएकाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य आपूर्ति मन्त्रालयलाई यो निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।

गत वर्ष २०८० फागुन २ गतेको मन्त्रिस्तरिय निर्णयअनुसार दुग्ध तथा दुग्ध पदार्थ आयातमा राेक लगाएकाे थियाे । निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि लागि दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न रोक लगाइएको मन्त्रालयले जारी गरेकाे मातहतकाे विभागलाइ कार्यान्वयनका लागि पठाइएकाे परिपत्रमा उल्लेख थियाे ।