सहकारी ठगीमा संलग्न ५ सय ७५ जनाभन्दा बढी जेलमा छन्ः प्रधानमन्त्री


काठमाडौँ । सरकारले सय दिनमा सहकारी ठगीमा संलग्न ५ सय ७५ जनाभन्दा बढीलाई जेल सजाय तोकेको जनाएको छ ।

सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकमको अपचलन र ठगीमा संलग्न ६ सय भन्दा बढी ठगहरूलाई कानुनी प्रक्रियामा ल्याइएको र ५ सय ७५ भन्दा बढीलाई जेल सजाय तोकिएको बताए ।

उनले भ्रष्टाचार नियन्त्रणको कार्यलाई सरकारको प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन्। “भ्रष्टाचार नियन्त्रण सुटिङ गरेर देखाउने मात्र होइन, कानुनी प्रणाली स्थापना गर्ने हाम्रो लक्ष्य हो,” प्रधानमन्त्री ओलीले भने।

सहकारी क्षेत्रमा हुने अपचलन रोक्न सरकारले सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने, सहकारी कर्जा सूचना केन्द्र स्थापना गर्ने र ऋण असुली न्यायाधीकरण बनाउने कामलाई पनि अघि बढाएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा कानुनी प्रणालीलाई प्राथमिकता दिएको र क्यामेराका लागि प्रदर्शन गर्न नखोजेको बताए। “हल्ला मात्र मच्चाउने होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रक्रिया सुनिश्चित गर्नु हाम्रो मुख्य प्राथमिकता हो,”उनले थपे।