सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड गर्‍यो


काठमाडाैँ । सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरूको सङ्घर्षलाई दबाउन खोजेको बताएका छन् ।

बुधवार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी वचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन् । आफूहरू सहकारीको वचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरुले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरूको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी संस्थाका बचत पीडित गोकर्ण बरुवालले आफूहरू वचत रकम फिर्ताको मागसहित आन्दोलित भएको बताए । उनले रास्वपाले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि सहकारी पीडितको आवाज बोलेजस्तो गरेको आरोप लगाए ।

सूर्यदर्शन वचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले आफूहरु कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको भन्दै आफूहरुले वचत फिर्ताको माग राखेर आन्दोलन गरिरहेको बताए । उनले आफूहरुको वचत छिटोभन्दा छिटो फिर्ता गराउन सरकारसँग माग गरे ।

सूर्यदर्शन सहकारी वचत पीडित सङ्घर्ष समितिका सचिव दुर्गानाथ न्यौपानेले पक्राउ पर्न बाँकी रहेका सहकारी ठगहरुलाई तुरुन्त पक्राउ गर्न माग गरे । उनले उनीहरुको सम्पत्ति लिलामी गरेर वचत फिर्ता गराउनका लागि आफूहरुले सरकारलाई दबाब दिइरहेको बताए ।

त्यसैगरी सूर्यदर्शन सहकारी वचत पीडित प्रेमप्रसाद रेग्मीले बाहिरी जिल्लाबाट पोखरामा आएका रास्वपाका कार्यकर्ताले सहकारी पीडितको घर–घरमा पुगेर आश्वासन दिइरहेका भन्दै खेद व्यक्त गरे । उनले रास्वपा कार्यकर्ताले आफ्नो सभापति अनुसन्धानमा तानिएपछि मात्रै सहकारी पीडितको न्यायको लागि बोलेर आफूहरुको सङ्घर्षलाई अन्तै मोड्ने काम गरिएको बताए ।