२ घण्टा बजार खुल्दा ७३ करोडको कारोबार


काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । लामो समयको निरन्तर गिरावटबीच हिजो बिहीवार सामान्य राहत महशुस गरेका लगानीकर्ताको मनोवल एक दिन पनि टिकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शुक्रवार सेयर कारोबार मापक नेप्से परिसूचक ७.५७ अंकले घटेर १९७१.३६ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ०.६९ अंकले घटेर ३८१.१४ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
शुक्रबार कारोबार रकमका आधारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको १० करोड १४ लाख ७० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

कूल २२० वटा कम्पनीको २३ लाख ५४ हजार ९ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ करोड ६२ लाख ३५ हजार २ सय ९८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज रिभर फल्स पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.९३ प्रतिशतले घटेको छ ।