नाडा अटो शो २०२२ को ’ स्टल रजिष्ट्रेशन दुई दिनमै सकियो


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा २०७९ भाद्र ७ देखि १२ गते सम्म आयोजना गरिने “नाडा अटो शो २०२२” को गत हप्ता खुल्ला गरिएको स्टल बुकिङका लागि रजिष्ट्रेशनमा उल्लेखिय सहभागिता रहेकोे छ ।

चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भईसकेको नाडाले जनाएको छ । असार २ गते गरिएको गोलाप्रथा अन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिसनका प्रतिनिधि तथा नाडा अटो शो समितिका पदाधिकारीहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँट गरिएको छ ।

विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमसिएयल भेइकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पांग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ ।

कोभिड महामारीका कारण दुई वर्ष पछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यवसायीहरुको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटो व्यवसाय चलायमान हुनेमा पनि आयोजक विश्वस्त रहेको बताइएको छ ।

नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणका लागि समेत नाडा अटो शो अपरिहार्य रहेको छ ।

अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ कम्पनीहरुका विज्ञ एवं जानकारहरुसँगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनि सभापति बरालले बताए ।