काठमाडाैँ । भक्तपुरका प्रजापती समुदाय अहिले तिहारका लागि माटोका भाँडा बनाउन व्यस्त छन्। तिहारमा विशेष गरेर माटोका पालादेखि कलशसम्मका भाँडाको माग ह्वात्तै बढ्छ, जसले गर्दा यस समयमा प्रजापती समुदायलाई भ्याइनभ्याइ हुने गरेको छ। माटोका भाँडाहरूको माग बढ्दै गइरहे पनि आवश्यक माटोको उपलब्धता भने वर्षेनी कठिन बन्दै गएको छ। पहिले जतासुकै माटो खन्न पाइने भए पनि हाल प्लटिङको विस्तारका कारण माटो पाउन कठिन भएको प्रजापती समुदायले गुनासो गरेका छन्।
भक्तपुरका गणेशकुमार प्रजापतीले आफ्नो सानैदेखिको परम्परागत पेशा रहेको माटोको भाँडा बनाउने काम अझै निरन्तरता दिइरहेको बताउँदै भने, “पहिले पनि पालाको मूल्य दुई रुपैयाँ नै थियो र अहिले पनि उस्तै छ। तर माटोको अभावले पेशा निरन्तरता दिन मुस्किल भएको छ।” पहिले भक्तपुरमै माटो सहजै पाउन सकिन्थ्यो, तर अहिले साँखु र काभ्रेबाट माटो किनेर ल्याउनुपरेको गणेशकुमारको भनाइ छ।
यस्तै, हरिओम प्रजापतीले माटोका भाँडाको मूल्य पहिलाजस्तै भए पनि आर्थिक कठिनाइका कारण लसुन र सागसँग पनि भाँडा साट्नुपरेको पुरानो सम्झना सुनाउँदै माटोको अभाव र मूल्य वृद्धि अहिले झन् चुनौती बनेको बताए। “माटोका ठाउँमा प्लटिङ र घर बनेर माटो पाउनै कठिन भइसक्यो। सरकारले माटो व्यवस्थापनमा सहयोग नगरे यो पेशा लोप हुँदै जानेछ,” उनले चिन्ता व्यक्त गरे।
माटोका भाँडा व्यापारी विनोदकुमार प्रजापतीले पुख्र्यौली पेशा भएकाले चट्टै छोड्न नमिल्ने तर पुरानो मूल्यमा भाँडा बेच्दा लागत नै नउठ्ने गुनासो गरे। तिहारमा विशेष गरेर पाला नै बढी बिक्ने भए पनि अरू समयको उत्पादनलाई लिएर सजगता र निरन्तरता राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। “सदावाहर खुत्रुके, धुपाउरो जस्ता सामानहरू भने विक्री भइरहन्छन् तर माटो र इन्धनको अभावले गर्दा काम सजिलो छैन,” विनोदकुमारले भने।
यो पेशामा करिब ३५ वर्ष बिताइसकेका रोशन प्रजापतीले पनि यस वर्ष माटोका भाँडाको माग घटेको बताउँदै, देशको आर्थिक अवस्थाले पनि मागमा असर पारेको हुनसक्ने अनुमान गरे। “माटो व्यवस्थापन सरकारले गरिदिएमात्र हाम्रो पुस्तौँदेखिको पेशा सुरक्षित रहन सक्छ,” उनले भने ।
प्रजापती समुदायका लागि तिहार विशेष समय हो, तर उनीहरू माटोको अभावसँगै परम्परागत पेशा लोप हुने चिन्तामा छन्। सरकारको सहयोग र माटोको व्यवस्थापन गरिदिए यो समुदायको सांस्कृतिक परम्परा र व्यवसायलाई निरन्तरता दिन सहज हुने उनीहरूको आशा छ।
प्रतिक्रिया दिनुहोस्