मंगलबार ४६ अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्ब रुपैयाँभन्दा बढी


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार समृद्धि फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ७१ लाख ५९ हजार ३६३ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआईसी इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३१९ कम्पनीको एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।