सफ्टवेयरको स्थानीय बजार


नेपालमा ३ सय ७३ वटा सफ्टवेयर कम्पनी दर्ता भएको उद्योग विभागको तथ्यांक छ । कति दर्ता हुने क्रममै छन् । आकारमा सानाठूला होलान् । तर यो संख्या उल्लेखनीय हो ।

दुई दशकअघिसम्म काठमाडौंको महाबौद्धमा सफ्टवेयर किलोका हिसाबले बिक्री हुन्थ्यो । सफ्टवेयर भनेको के हो भनेर धेरैलाई थाहा नै थिएन । वास्तवमा मान्छेहरूमा चासो नै थिएन । सफ्टवेयर भन्नासाथ सय रुपैयाँमा सीडीमा आउने विन्डोज र एक्सपी मात्र हो भन्ने बुझाइ थियो । तर कसले, केका लागि कसरी प्रयोग गर्छन्, थोरैलाई मात्र थाहा थियो । त्यस्तो सफ्टवेयर कुनै दिन नेपालभित्रै बनाएर ठूलो व्यवसायका रूपमा स्थापित हुन्छ, देशको अर्थतन्त्रमा योगदान पु-याउन सक्छ भनेर कसैले सोचेकै थिएनन् । 

त्यही समय हामी चार*जना साथी मिलेर सफ्टवेयर निर्माणको कारखाना आईएमएस सफ्टवेयरको थालनी ग-र्यौं । त्यस बेला हामीले आईएमएस सफ्टवेयर सुरु गर्दा अर्याल ब्रदर्स र औंलामा गन्न सकिने थोरै मात्र सफ्टवेयर कम्पनी अस्तित्वमा थिए । सुरुवाति दिनमा हामीले कार्यालयको हाजिरीलाई डिजिटलाइज गर्न सफ्टवेयर निर्माण गर्दै आफ्नो व्यावसायिक यात्राको थालनी गरेका थियौं । पछि क्रमशः डिपार्टमेन्ट स्टोरहरू बढ्दै जान थाले । डिपार्टमेन्ट स्टोर, रिटेल स्टोर, रेस्टुराँ सप्लाई तथा डिस्ट्रिब्युसन च्यानलका लागि सफ्टवेयर बनाउँदै बेच्ने हाम्रो कम्पनीले विस्तारै गति लिन थाल्यो । तर बाटो सजिलो थिएन । 

त्यसबेला हामीले कम्पनी सुरु गर्दा मान्छेहरूलाई पहिले त सफ्टवेयर के हो भनेर बुझाउनुपथ्र्यो, त्यसले गर्ने काम, पु-याउने फाइदा र प्रयोग गर्न सिकाएपछि किन्नुपर्छ है भनेर सम्झाउनुपथ्र्यो । आज आईएमएस सफ्टवेयरले स्थापनाको २१ वर्ष पूरा गरेको छ । २१ वर्षको अन्तरालमा अवस्था हिजो जस्तो छैन । प्रविधिमा भएको नाटकीय परिवर्तन प्रत्यक्ष प्रभाव सफ्टवेयर उद्योगमा देखिन थालेको छ । 

आजको मितिसम्म नेपालमा ३ सय ७३ ओटा आईएमएस जस्ता सफ्टवेयर कम्पनी दर्ता भएको उद्योग विभागको तथ्यांकमा देख्न सकिन्छ । कति दर्ता हुने क्रममै छन् । आकारमा सानाठूला होलान् । तर यो संख्या उल्लेखनीय नै हो । विश्वले आज सफ्टवेयर उद्योगलाई ‘फ्युचर इन्डस्ट्री’का रूपमा पहिचान गरेको छ । जनशक्ति पनि त्यहीअनुपातमा यस क्षेत्रतर्फ आकर्षित भइरहेका छन् । नेपालमा सफ्टवेयरको व्यावसायिक उद्योग र प्राज्ञिक दुवै क्षेत्रमा समानन्तर विकास भइरहेको देखिन्छ । उपभोक्तामाझ सफ्टवेयर र यसको फाइदाको चेतना विस्तार भएसँगै हाम्रा लागि व्यवसाय गर्न अहिले बजार अनुकूल बनेको छ ।

बजार धेरै परिवर्तन भइसकेको छ । पहिले चेतनामा केन्द्रित थियौं, अहिले ढुक्कसाथ बजार केन्द्रित हुन पाएका छौं । अहिले सफ्टवेयरले जीवन सहज बनाउँछ, सबै कुरा एरर फ्री बनाउँछ, क्याल्कुलेसन चाँडो गर्छ, रिपोर्ट्स दिन्छ भन्ने कुरा मान्छेहरूलाई थाहा भइसकेको छ । अहिले सफ्टवेयर बनाउने र बेच्ने काममात्र गर्न पर्छ । प्रारम्भिककालतिर जनचेतनाको स्तरमा काम गरेर त्यसपछि प्रोडक्ट बनाएर बेच्ने प्रक्रिया पूरा गर्न पथ्र्यो । अहिले हामीले देशका सबैजसो ठूला डिपार्टमेन्ट स्टोर, रिटेल स्टोर, करिब एक हजार रेस्टुराँ, पार्किङ, पुस्तकालयलाई सफ्टवेयर प्रडक्ट र सपोर्ट प्रदान गरिरहेका छौं । यसबाहेक हामीले केही समयअघि मात्र डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम पनि सुरु गरेको छौं, जुन ठूला सफ्टवेयर हुन् । यिनको प्रयोग विशेषगरी निर्माणकर्ता, आपूर्तिकर्ता, आयातकर्ता, खुद्रा आदि सम्पूर्ण च्यानललाई ट्र्याक गर्न प्रयोग हुन्छ ।

यसबाहेक हाल नेस्ले नेपाल जस्तो बहुराष्ट्रिय कर्पोरेट कम्पनी, नेपाल राष्ट्र बैंक, सूर्य फेज, डाबर नेपाल (भर्खरै सम्झौता भएको अगस्ट २०२२ बाट लाइभमा जाने) र पतञ्जलीको ८० हजार ठाउँमा पनि हाम्रो कम्पनीले सेवा प्रदान गरिरहेको छ । हाल हाम्रो एक्लो कम्पनीले २० देखि ३० वर्ष उमेर समूहबीचका १ सय ३० जना युवालाई प्रिमियम तलबसहित रोजगारी प्रदान गरिरहेको छ, जसले देशभित्र मात्र होइन भारत, जापानजस्ता मुलुकका लागि समेत सफ्टवेयर बनाएर करोडौं विदेशी मुद्रा भित्र्याउन मद्दत गरिरहेका छन् । 

नेपालमा धेरै सफ्टवेयर कम्पनीहरूले अहिले विदेशी कम्पनीहरूका लागि सफ्टवेयरको आउटसोर्सिङ काम देशभित्रै बसेर गरिरहेका छन् । अहिले हाम्रो जस्तो सफ्टवेयर कम्पनीको वार्षिक कारोबार नै १० करोडसम्म हुने गरेको छ । नेपालमा पछिल्लो समय बजार एकदमै राम्रो छ । काम जति राम्रो गर्न सक्यो, आफ्नो लिमिटेसन त्यति नै बढेर जान्छ । बजार विश्वव्यापी छ, हामी एकदमै ढुक्क छौं । 

हरेक सफ्टवेयर कम्पनीको आफ्नै किसिमका प्रोडक्टहरू हुने भएकाले सबैले सबै किसिमका सफ्टवेयर बनाउँदैनन् । यसैले कम्पनीहरूबीच पनि एकअर्काको परिपूरक हुने भएकाले आयात–निर्यात दुवै उस्तै अनुपातमा हुने गर्छ । बजार तयार छ, उपभोक्तामा एक स्तरको चेतना विस्तार भइसकेको छ । लाखौंलाई रोजगारी दिएर अर्बौंको आम्दानी गरिरहेको छ । तर सफ्टवेयर उद्योग पनि चुनौतीबाट मुक्त छैन ।

सीमित जनशक्ति त्यसमाथि पनि अस्थिर भइदिने समस्याले नेपालको घरेलु सफ्टवेयर उद्योगलाई मारमा पारेको छ । दक्ष जनशक्ति र उत्कृष्ट डेभलपर्स, प्रोग्रामर्सको अभाव एकातिर, कलेजबाट आउने नयाँ इन्टर्नहरूलाई सिकाउँदै सिद्धहस्त बनाउनुपर्ने चुनौती अर्कोतिर । दुईतीन महिना प्रशिक्षण दिएपछि बल्लतल्ल आउटपुट आउन थाल्छ । त्यसपछि कोही कम्पनी परिवर्तन गर्ने कोही फ्रिल्यान्सिङ गर्ने कोही विदेसिने । मागअनुसार जनशक्ति यो उद्योगलाई पुग्न सकेको छैन । 

अभौतिक वस्तु भएको कारण कतिपय कुरा नियन्त्रण गर्न राज्य र कानुनलाई अप्ठ्यारो पर्छ । यस्तो अवस्थामा कतिले इन्डस्ट्रीमा गलत अभ्यास गरेर सिंगो उद्योगकै गरिमामा समेत खलल पुर्‍याउने काम पनि गर्ने गरेको देखिन्छ । सफ्टवेयर ‘वान टाइम सेल्स’ वाला पेडक्ट होइन । यसको बिक्री गरेपछि निरन्तर मर्मत, अद्यावधिक तथा सुरक्षा प्रत्याभूति गरिरहनुपर्ने जस्ता बिक्रीपछिका सेवाका पाटा हुन्छन् । तर कतिपय व्यक्ति तथा कम्पनीले आफ्नो डेभलपिङको सीप भएको भरमा प्रडक्ट बनाउने बेच्ने अनि आफ्टर सेल्स सर्भिस नदिएर ग्राहकलाई समस्यामा पार्ने गरेका छन् । 

सफ्टवेयरमा आफ्टर सेल्स सपोर्ट एकदमै महत्वपूर्ण हुन्छ । कतिपय फ्रिलान्सर्सले सफ्टवेयर बनाएर ग्राहकलाई बिक्री त गर्छन् । तर पछि सपोर्ट खोज्दा सम्पर्कमै आउँदैनन् । यस्तो अवस्थामा एउटाले बनाएको सफ्टवेयरलाई अर्कोले सपोर्ट दिन मिल्दैन । यसरी बिक्री गरेर पछि सपोर्ट नदिनु भनेको त ग्राहक ठग्नु हो । यसरी ग्राहक ठगिन थालेपछि सिंगो क्षेत्रमाथि नै मानिसहरूले आशंकाको दृष्टिकोण राख्छन् । मान्छेहरूमा घरेलु सफ्टवेयर उद्योगको गुणस्तरमाथि अनि शंका पलाउन थाल्छ । यसैले अहिले नियमनको टड्कारो खाँचो छ ।

अहिले हामीले ग्राहकलाई चौबीसै घण्टा सेवा पु-याउने हेतुले ४० जना कर्मचारी आफ्टर सेल्स सपोर्ट विभागमा मात्रै खटाएको छौं । सपोर्ट दिनुपर्छ भन्ने कुरा सानो हो । तर त्यो नियमनका रूपमा आयो भने यसले उपभोक्ता हित संरक्षणमा यस क्षेत्रमा राम्रो प्रभाव पार्छ । तर नेपालमा सफ्टवेयर उद्योगमा सरकारको आँखा पर्न सकेको छैन । न मापदण्डका मामिलामा नियमन छ, न व्यावसायिक अभ्यासमै । यति ठूलो सम्भावना बोकेको उद्योगलाई नियमन गरी अनुशासननमा राख्न सके मात्र भोलिका दिनमा उद्योग रहन्छन् । इन्टरनेटको खुला विश्वमा फ्रिलान्सर्सलाई काबुमा राख्नुपर्छ भन्ने होइन । तर छाडा छाड्न हुँदैन, काम गर्नलाई नियमनभित्र अनुशासित बनाएर राख्नुपर्छ ।

बिलिङ सफ्टवेयरको क्षेत्रमा सरकारका केही नियम छन् । कुनै पनि फ्रिलान्सर्सले बिलिङको सफ्टवेयर बनाउन पाउँदैन । राजस्व छलीका कुराहरू आउने भएका कारण आन्तरिक राजस्व विभागमा दर्ता भएका सफ्टवेयरबाट मात्र बिलिङ निकाल्न पाइन्छ । यसका लागि कम्पनी दर्ता भएको हुनुपर्छ, प्यान नम्बर हुन पर्छ । राजस्व छली ग-यो भने त्यस बेला कम्पनीलाई पनि कानुनी कारबाही गरी पाँच लाखसम्म जरिवाना गराउन सक्छ । तर यसबाहेकका अन्य किसिमका प्रडक्ट बनाउने सफ्टवेयर उद्योगलाई खासै कुनै मूर्त नियमले बाँधेर बाटो देखाएको अवस्था छैन । भौतिक वस्तु नभएका कारण समय समयमा हुने ग्राहकको बदमासीको समेत असर यस क्षेत्रलाई पर्ने गरेको छ । 

सामान्यतया कुनै पनि सामान निर्माण गर्दा पेस्की लिने चलन हुन्छ । ठूला स्थापित सफ्टवेयर कम्पनीले पनि यसरी नै काम गर्छन् । तर ससाना स्टार्टअप कम्पनीले काम पाउन लचिलो बनिदिने गरेका छन् । यस्तो अवस्थामा कतिपय ग्राहकहरू इमानदार नबनिदिँदा कम्पनीहरू स्वयं पनि मारमा पर्ने गरेका छन् । अहिले धेरैजसो सफ्टवेयर कम्पनीलाई यही समस्या हुने गरेको छ । प्राविधिक ज्ञानको पनि पैसा तिर्नुपर्छ भन्ने वातावरण बन्नुपर्छ । 

यस क्षेत्रको पैरवीका लागि सफ्टवेयर उद्योगको आफ्नै संगठन नहुनु पनि एउटा कमजोरी हो । कम्प्युटर एसोसिएसन क्यान महासंघमा सञ्चार प्रविधि क्षेत्रका सबै संस्था आबद्ध छन् । तर हार्डवेयरमा मात्र उनीहरूको ध्यान केन्द्रित हुँदा यतातिर कसैको ध्यान जान सकेको छैन । यस्तोमा एउटा संस्था बनाउनु आवश्यक छ । पहलका लागि हामीले पनि नसोचेको होइन । तर व्यवसायमा ध्यान केन्द्रित हुँदा सबै एकीकृत हुन सकेका छैनौं । विश्व परिदृश्यमा नेपाली सफ्टवेयर उद्योग भर्खरै वामे सर्दै छ । यस्तो अवस्थामा सरकारको हौसला र मैत्रीपूर्ण वातावरण मिलेर नेपालको अर्थतन्त्रलाई डोर्‍याउन सक्ने क्षेत्र बन्ने सफ्टवेयर उद्योगको बलियो सम्भावना छ । तर अवस्था अपेक्षीकृत बन्न नसकेको छैन । सरकारको आँखामा सफ्टवेयर उद्योग आजसम्म पर्न सकेको छैन । यो उद्योगलाई पहिचान गर्ने गरी सरकार पहिचान गरेर नीति नियम बनाउनुपर्छ । यहाँसम्म हामीले ल्याइपुर्‍यायौं, अब सरकारले पनि औंला समातेर अगाडि बढाउने हो कि ? 

प्रविधि/टीजेएफ बाट साभार

(टक्सार म्यागजिन, जेठ २०७९, पृष्ठ ६२–६३) 

*चार जना हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएकाे ।