काठमाडौँ । सडक सवारी पीडितका सम्झनाको विश्व दिवस को अवसरमा हिजाे (आइतवार) काठमाडौँमा आयोजित एक अन्तरक्रियामा नेपालमा बढ्दो सडक दुर्घटनाको समस्या र यसको न्यूनीकरणका उपायमाथि छलफल गरिएकाे थियाे । पद्मकन्या क्याम्पसद्वारा आयोजित कार्यक्रममा सडक सुरक्षा विज्ञ, ट्राफिक प्रहरी, महानगरका प्रतिनिधि, तथा पीडित परिवारका सदस्यहरूको सहभागिता थियो।
सडक सुरक्षा विज्ञ भगवती सेढाईंले विश्वभर हरेक वर्ष ११ लाखभन्दा बढी मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने तथ्याङ्क प्रस्तुत गर्दै नेपालमा पनि यो समस्या गम्भीर भएको बताइन्। उनका अनुसार नेपालमा मात्र वार्षिक रूपमा ३ हजारको हाराहारीमा मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन्। उनले सडक सुरक्षा जस्तो महत्त्वपूर्ण विषयलाई पर्याप्त प्राथमिकता नदिनु दुःखद भएको उल्लेख गरिन्।
कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक हुमानन्द खनालले दुर्घटनाको मुख्य कारण ट्राफिक नियमको अवज्ञा भएको बताए। उनले विद्यालयस्तरमै सडक सुरक्षासम्बन्धी शिक्षा समावेश गरेर जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
काठमाडौँ महानगरपालिका यातायात तथा सडक सुरक्षा विभागका सल्लाहकार जगतमान श्रेष्ठले महानगर सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे संवेदनशील रहेको र दुर्घटना न्यूनीकरणका लागि आवश्यक सहकार्य गर्न तयार रहेको बताए।
पद्मकन्या क्याम्पसका सहायक प्रमुख विमला नेपाले सडक दुर्घटनाको भयावहता औंल्याउँदै न्यूनीकरणका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्। कार्यक्रममा सडक दुर्घटनाबाट प्रभावित परिवारका सदस्यहरूले यो विषयलाई साझा मुद्दाका रूपमा अघि बढाउन सुझाव दिए।
हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो आइतवार मनाइने यो दिवसले सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अभियानको खाँचो औंल्याउँदै सम्बन्धित पक्षलाई गम्भीर बन्न प्रेरणा दिएको छ।
प्रतिक्रिया दिनुहोस्