नेप्से ८ अंकले घट्दा ८ अर्ब माथिको कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ अंकमा पुगेको छ ।

विगत १० महिनादेखि रिक्त बनेको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती भएपछि आशावादी बनेका छन् । अध्यक्ष नियुक्तसँगै बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा सानो करेक्सन देखिएको सेयरबजारका जानकारहरु बताउँछन् ।

उनीहरुका अनुसार हाम्रो बजार लगानीकर्ता विश्वस्त हुने वातावारण नहुँदा थोरै भएपनि नाफा बुक गर्नुपर्ने बाध्यता रहेको छ ।

पछिल्ला केही वर्ष देशको अर्थतन्त्र, राजतीतिक अस्थिरता लगायत विभिन्न कारणले गर्दा इन्भेष्टर भन्दा ट्रेडर हावी हुँदा आज बजार बढे भोली घटिहाल्ने स्थिति देखिएको उनिहरुको भनाई छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसुमहको सेयरमूल्य बढेको छ भने बाँकी १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबारको आधारमा एक्सल डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ८ लाख ६४ हजार बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार ३ सय ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३ सय ७३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।