काठमाडौँ । मन्त्रिपरिषद् बैठकले २०८० साल चैत ३० गते सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने ऐतिहासिक निर्णय गर्यो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय फलफूल विकास केन्द्रले आँप, सुन्तला, केरा, लप्सी, नासपाती र स्याउलाई राष्ट्रिय फलको सूचीमा समावेश गर्न प्रस्ताव गरेको भए पनि सुन्तला देशभर धेरै जिल्लामा व्यापक रूपमा खेती गरिने र यसको व्यावसायिक सम्भावना उच्च रहेको आधारमा अन्ततः सुन्तलालाई राष्ट्रिय फलको रूपमा छनोट गरिएको थियो ।
नेपालमा सुन्तला खेतीलाई सुहाउँदो हावापानी भएकोले धेरै परिश्रम नगरिकनै पनि उच्च गुणस्तरको स्वादिलो, रसिलो, वासनादार सुन्तला फल उत्पादन भइरहेको छ । सोही अनुसार चिसो मौसम सुरू भएसँगै यस वर्ष उत्पादन भएका सुन्तलाले नेपाली बजारमा यतिबेला चहलपहल बढाएको छ ।
सुन्तला नेपालको मध्यपहाडी क्षेत्रमा खेती गरिने प्रमुख फलफूल बाली हो । ताप्लेजुङ, पाँचथर, खोटाङ, भोजपुर, सोलुखुम्बु, धनकुटा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, गुल्मी, अर्घाखाँची, दैलेख, जाजरकोट सल्यान, अछाम, डोटी, बैतडी, डडेलधुरा, कैलाली लगायतका ४० भन्दा बढी जिल्लामा सुन्तलाको व्यावसायिक खेतीबाट करोडौं आम्दानी भइरहेको राष्ट्रिय फलफूल विकास केन्द्रले जनाएको छ ।
राज्यले राष्ट्रिय फलकाे रूपमा घाेषणा गरे पनि कृषकलाई व्यावसायिक सुन्तला खेतीतर्फ साेचेजसरी अग्रसर बनाउन नसकेकाे सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष बोधराज अर्यालको गुनासो छ । भविष्यमा यसको उत्पादन साथै माग बढ्ने निश्चित भएकोले यसको उत्पादनमा किसानहरू अग्रसर बनाउने खालाकाे काम गर्नकाे उनले आग्रह गरे ।
सरकारकाे प्रयास र आर्थिक याेगदान
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तलाको उत्पादन वृद्धि र गुणस्तर सुधारका लागि विशेष ध्यान दिएको जनाएको छ । देशभर १५ वटा जोन र २ वटा सुपर जोन निर्धारण गरी बगैंचाको व्यवस्थापन, बिरुवा उत्पादन, र कृषकलाई प्रविधि हस्तान्तरणमा काम भइरहेको छ ।
सोलुखुम्बु, उदयपुर, गोरखा, म्याग्दी, नवलपरासी, गुल्मी, जाजरकोट, दैलेख, रामेछाप, धनकुटा, सङ्खुवासभा, भोजपुर, पाल्पा, डोटी, र दार्चुला क्षेत्रलाई सुन्तलाका जोनका रूपमा परिचालन गरिएको छ भने सिन्धुली र स्याङ्जालाई सुपर जोन बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएकाे छ ।
सरकारले यो परियोजनामार्फत कृषकहरूलाई उन्नत जातका बिरुवा उपलब्ध गराउनुका साथै सुन्तलाको खेतीमा आधुनिक प्रविधि र वैज्ञानिक अभ्यासलाई प्रोत्साहित गर्दै आएको छ। यसले सुन्तलाको उत्पादनमा मात्र नभई गुणस्तरमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ।
राष्ट्रिय फलफूल विकास केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद बरालले सुन्तलालाई राष्ट्रिय फलकाे रूपमा घाेषणा गरेपछि विभिन्न जिल्लामा यसकाे खेती विस्तार हुँदै गएकाे बताए ।
उनले भने, “अहिले विभिन्न पालिकाहरूले सुन्तला खेतीलाई व्यवसायीक रूपमा अघि बढाउनकाे लागि विभिन्न कामहरू गरेकाे छ । त्यसैले यसमा प्रदेशले पनि काम गर्न आवश्यक छ ।”
उनका अनुसार नेपालमा सुन्तला खेतीले प्रतिवर्ष ७ लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।साथै यसको व्यावसायिक खेतीबाट वार्षिक ३० अर्ब ६१ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। केन्द्रका अनुसार नेपालको सुन्तला अहिले बंगलादेश, भुटान, भारत, जापानलगायत मुलुकमा निर्यातसमेत हुने गरेको छ नेपालले सुन्तला चीन पनि निर्यात गर्न चाहेको छ। त्यस्तै, सुन्तालको कुल कृषि गार्हस्थ्य उत्पादनमा ०.९६ प्रतिशत योगदान छ ।
नेपालको मध्यपहाडी क्षेत्रमा, समुद्री सतहभन्दा ८०० देखि २४०० मिटरसम्मको उचाइमा हुने सुन्तला खेतीले देशको कुल कृषि उत्पादनमा ०.८५ प्रतिशत योगदान पुर्याउँछ । स्याङ्जाका किसानका लागि यो प्रमुख नगदे बाली हो । तर स्वादले भरिएका स्याङ्जाका सुन्तलामा यतिबेला प्राकृतिक विपत्तिदेखि फलमा लाग्ने रोगले सताउँदा उत्पादन घट्दै गएको किसानहरूको गुनासो छ ।
समस्या नै समस्यामा किसान
गत असोज १२ गतेदेखि परेको अविरल वर्षका कारण देशभरको कृषि क्षेत्रमा करिब ६ अर्बभन्दा बढीको क्षति पुगेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको थियो । सो क्षतिले विभिन्न ठाउँमा सुन्तलालाई समेत असर पारेको थियाे ।
त्यतिमात्रा नभएर पछिल्लो समय कृषकलाई सुन्तलामा लाग्ने रोगले समेत सताउने गरेको छ । सबैभन्दा बढी सुन्तलामा देखिने औंसा र पतेरोले कृषकलाई मार परिरहेको स्याङ्जाकाे भीरकोट नगरपालिका वडा नम्बर ७ का कृषक मिनप्रसाद कोइरालाले बताउँछन्।
औंसे कीरा र स्केल रोगका कारण सुन्तलाका दाना कुहिएर बोटबाट झर्न थालेका गुनासो आउन थालेको सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष अर्यालले जानकारी दिए ।
अर्यालले भने, “सुन्तलामा यी रोगहरूको प्रभाव देखिँदै गर्दा, कृषकहरू बिचमा गुनासो बढिरहेको छ। सुन्तला खेती गर्ने कृषकहरूले उत्पादनमा गिरावट र रोगका कारण ठूलो असफलता भोगिरहेका छन्। यसले कृषकहरूको जीवनस्तरमा पनि नकारात्मक प्रभाव परेको छ।”
कोल्ड स्टोरको छैन अद्यावधिक
राष्ट्रिय फलफूल विकास केन्द्रले २०७७ सालमा देशभर रहेका फलफूल भण्डारणका लागि सञ्चालनमा रहेका कोल्ड स्टोरहरूको विवरण संकलन गरेकाे थियाे । त्यसपछि कुनैपनि सराेकार निकायहरूले त्यससम्बन्धी अध्ययन गरेकाे छैन् । उक्त तथ्याङ्क अनुसार २०७७ सालसम्म देशभर फलफूलको भण्डारणका लागि १२६ वटा कोल्ड स्टोर सञ्चालनमा रहेको थिए । यसका अतिरिक्त, १८ वटा कोल्ड चेम्बर, १ वटा कुलवट, १२८ वटा सेलार स्टोर, ३० वटा पकाउने चेम्बर, र २७ वटा रस्टिक स्टोर पनि रहेको पाइएको थियाे । यद्यपि यी संरचनाहरू मध्ये धेरै जसोले पूर्ण क्षमतामा काम गरिरहेको अवस्था छ कि छैन भन्ने कुनै विवरण नरहेकाे राष्ट्रिय फलफूल विकास केन्द्रका सूचना अधिकारी बरालले बताए ।
मौसम अनुसार फलफूलको बढी उत्पादन हुने समयमा भण्डारणको अभावले गर्दा कृषकहरू उत्पादनको उपयुक्त मूल्य पाउनबाट वञ्चित हुँदै आएका छन्। बेमौसमी समयमा बजारमा निरन्तर फलफूल उपलब्ध गराउने र उत्पादनको गुणस्तर कायम राख्ने उद्देश्यले निर्माण गरिएका यी संरचनाहरूले अपेक्षित प्रभाव देखाउन पनि सकेका छैनन्।
हाल सञ्चालनमा रहेका कोल्ड स्टोर, कोल्ड चेम्बर, कुलवट, सेलार स्टोर, पकाउने चेम्बर, र रस्टिक स्टोरहरूलाई उचित व्यवस्थापन र मर्मत संभार गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सके कृषकहरूको आयस्तरमा सुधार आउने सराेकारवाहरूकाे भनाइ छ ।
निर्माणाधीन संरचनाहरू समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन सकियो भने आगामी केही वर्षभित्र थप कोल्ड स्टोर र अन्य संरचनाहरूको आवश्यकता नपर्न सक्छ। यस्ता संरचनाहरूको प्रभावकारी उपयोगले बजारमा निरन्तर आपूर्ति सुनिश्चित गर्न र कृषकहरूको विश्वास बढाउन सहयोग पुर्याउनेछ।
प्रतिक्रिया दिनुहोस्