काठमाडाैँ । हिरो मोटोकर्पले आफ्नो नयाँ जेनेरेसन डेस्टिनी १२५ स्कुटर भारतीय बजारमा सार्वजनिक गरेको छ। यसमा आधुनिक डिजाइन र विशेष सुविधाहरू समावेश गरिएको छ, जसले स्कुटरकाे प्रदर्शन र आरामलाई अझ उत्कृष्ट बनाउने लक्ष्य राखेको छ।
डेस्टिनी १२५ स्कुटर तीन भेरियन्टमा उपलब्ध छ: भीएक्स, जेट एक्स, र जेट एक्स प्लस आइ । यिनीहरूकाे सुरुवाती मूल्य ८०,४५० भारतीय रुपैयाँ (एक्स-शोरूम) राखिएको छ। यो स्कूटर १२५ सीसी सेग्मेन्टमा लोकप्रिय मोडेलहरू सुजुकी एक्सेस १२५, टिभिएस जुपिटर १२५, र होन्डा एक्टिभा १२५सँग प्रतिस्पर्धा गर्नेछ।
कम्पनीका अनुसार नयाँ डेस्टिनी १२५ स्कूटरमा १२४.६ सीसी सिंगल-सिलिन्डर एयर-कुल्ड इन्जिन प्रयोग गरिएको छ। यो इन्जिनले ७,००० आरपिएम मा ९ एचपि पावर र ५,५०० आरपिएम मा १०.४ एनएम टर्क उत्पादन गर्न सक्षम छ। कम्पनीका अनुसार, माइलेज सुधार गर्न र इन्जिनलाई थप परिष्कृत बनाउन सिभिटि क्यालिब्रेसनमा सुधार गरिएको छ। यसले स्कुटरलाई एक लिटर पेट्रोलमा ५९ किलोमिटर चल्न सक्ने बनाएको छ।
डेस्टिनी १२५ को डिजाइनमा एच-आकारको एलइडी डिआरएल, मेटल फ्रन्ट फेन्डर, र एलइडी हेडलाइट तथा टेललाइट समावेश गरिएको छ। त्यसैगरि कम्पनीका अनुसार जेट एक्स र जेट एक्स प्लस भेरियन्टमा पहिलो पटक १९० एमएम का फ्रन्ट डिस्क ब्रेक उपलब्ध गराइएको छ, जबकि भीएक्स भेरियन्टमा १३० एमएमका ड्रम ब्रेक छन्।
नयाँ डेस्टिनी १२५ स्कूटर नेपाली बजारमा कहिले उपलब्ध हुनेछ भन्ने आधिकारिक जानकारी आएको छैन। तर, यसको विशेषताहरू र भारतीय बजारमा देखिएको उत्साहका आधारमा, यो स्कुटर चाँडै नै नेपालमा समेत लोकप्रिय हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्