भारत मोबिलिटी एक्स्पो २०२५ भाेलिदेखि सुरू हुदैँ, ३५ कम्पनीहरूको सहभागिता हुने


काठमाडाैँ । नयाँ दिल्लीस्थित भारत मण्डपममा भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ भाेलि (शुक्रबार)देखि सुरू हुँदैछ। यो एक्स्पोमा पहिलो पटक ३५ वटा अटोमोबाइल कम्पनीहरूले भाग लिँदैछन्, जसलाई सन् १९८६ मा आयोजित पहिलो अटो एक्स्पो पछि अहिलेसम्मकै ठूलो सहभागिता मानिएको छ। यस कार्यक्रमलाई औपचारिक रूपमा ‘द मोटर शो’ नाम दिइएको छ।

यसपटक एक्स्पोको पहिलो दुई दिन, अर्थात् जनवरी १७ र १८ गते, मिडिया प्रतिनिधि, डिलर, र विशेष पाहुनाका लागि मात्र आरक्षित गरिएको छ। सर्वसाधारणले भने जनवरी १९ देखि २२ सम्म प्रवेश पाउनेछन्।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार, यस वर्षको एक्स्पोमा मारुती सुजुकी, हुन्डाई, मर्सिडीज, बीवाइडी, बिएमडब्लु लगायतका प्रमुख ब्रान्डहरूले आफ्ना नयाँ गाडी र प्रविधिहरू प्रदर्शन गर्नेछन्। यो भारत मोबिलिटीको दोस्रो तथा अटो एक्स्पो मोटर शोको १७ औं संस्करण हो।

सर्वसाधारणका लागि यो एक्स्पो निःशुल्क हुनेछ, तर प्रवेशका लागि अनलाइन दर्ता अनिवार्य गरिएको छ। इच्छुक व्यक्तिले www.bharat-mobility.com मा आफ्नो नाम र इमेल दर्ता गरेर क्यूआर-कोड प्राप्त गर्न सक्नेछन्। सो कोड देखाएर प्रवेश गर्न सकिने सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले जनाएकाे छ ।

प्रदर्शनीमा फूड स्टल र अन्य सुविधाहरूका लागि १३ वटा हलहरू उपलब्ध गराइनेछन्। यस पर्दशनीमा कार, मोटरसाइकल, कमर्शियल भेहिकल र इलेक्ट्रिक भेहिकल्स निर्माण गर्ने थुप्रै प्रमुख ब्रान्डहरू सहभागी हुँदैछन्। कार निर्माणतर्फ टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, टोयोटा, र स्कोडा जस्ता ब्रान्डले आफ्ना नवीनतम मोडलहरू प्रदर्शन गर्नेछन्। यस्तै, मोटरसाइकल निर्माणतर्फ हिरो मोटोकर्प, बजाज, सुजुकी र यामाहा जस्ता कम्पनीहरूको सहभागिता हुने आयाेजकले जनाएकाे छ ।

इलेक्ट्रिक सवारी साधन निर्माण गर्ने एथर एनर्जी, ओला इलेक्ट्रिक, र विनफास्ट जस्ता कम्पनीहरूले पनि आफ्नो प्रविधि र मोडलहरू प्रदर्शन गर्ने तयारी गरेका छन् ।