बैंकिङ क्षेत्रलाई सुधार गर्न आधार दर र स्प्रेड दरलाई पुनर्विचार गर्नुपर्छ: बैंकर्स संघ


काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रमा सुधारको लागि आधार दर र स्प्रेड दरलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। मंगलवार आयोजित पत्रकार सम्मेलनमा बैंकिङ क्षेत्रका विभिन्न समस्याहरूको बारेमा चर्चा गर्दै भने, “अहिले बैंकहरू रिकभरीमा छन्, तर कर्जा असुली गर्न जाँदा समस्या आइरहेको छ।”

कोइरालाले भने, “औसतमा खराब कर्जा ४.५ प्रतिशत भन्दा माथि रहेको छ, जसका कारण कर्जा वृद्धि र कर्जाको माग दुबै प्रभावित भएका छन्।” यसका साथै, उनले सरकारको पूँजीगत खर्चमा कमी रहेको र बैंकहरूमा नाफा घटेको बताए ।

नेपाल बैंकर्स संघका निर्देशक अनिल शर्माले बैंकहरू स्ट्रेसमा रहेको र कर्जा प्रवाह घटेको कारण प्रमुख चुनौती बनिरहेको बताएका छन्। उनले युवा पलायन, बढ्दो मुद्रास्फीति, कर्जा असुलीमा समस्या र धितोको अभावलाई पनि मुख्य समस्याका रूपमा प्रस्तुत गरेका छन् ।

शर्माले थपे, “बैंकिङ क्षेत्रलाई अहिले सहयोगको आवश्यकता छ। फी र चार्ज, आधार दर, स्प्रेड दर, प्रोभिजन नॉर्म्सको पुनरावलोकन गर्नु पर्छ। कर्मचारीको सुरक्षा, विदेशी प्रत्यक्ष लगानी (एफडिआइ) र अनुदानलाई आकर्षित गर्नुपर्ने आवश्यकता छ।”