११औं अटो ट्रेड डायलगमा नाडा अध्यक्ष चौधरीले भनेः नेपाल विद्युतीय सवारी साधनको हब बन्दै छ


काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा २०२५ जनवरी २० मा सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (एसआईएएम) को आयोजनामा ११औं अटो ट्रेड डायलग सम्पन्न भएकाे छ । कार्यक्रममा एसआईएएमका अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्य रहेको थियो।

उक्त अवसरमा नाडा अटाेमाेबाइल्सए एसाेसिएसनका अध्यक्ष करण चौधरीले प्यानलिस्टका रूपमा ‘ओभरभ्यु अफ नेपाल अटो पोलिसिजका’ शीर्षकमा आफ्नो धारणा राख्दै नेपालका अटोमोबाइल उद्योगले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा पुर्‍याएको योगदानबारे संक्षिप्त जानकारी गराए। उनले नेपालको सवारी साधन क्षेत्रको विकास, खासगरी विद्युतीय सवारी साधनतर्फको प्राथमिकता, चार्जिङ स्टेसनहरूको विस्तार, र सुरक्षा मापदण्डहरूमा भइरहेको सुधारका विषयमा चर्चा गरे।

उनले भने, “नेपालमा आईसी गाडीहरूको आयात घट्दै गएको भए पनि सरकारको ग्रीन इनर्जीलाई प्राथमिकता दिने नीति अनुरूप विद्युतीय सवारी साधनको आयात तीव्र रूपमा बढेको छ। नेपाल अब विद्युतीय सवारी साधनको हबका रूपमा अघि बढ्दै छ।”

यसै क्रममा अध्यक्ष चौधरीले नेपालको सडक सुरक्षासम्बन्धी सुधार प्रयास र आयातकर्ताबाट एसेम्बली प्लान्ट स्थापना हुँदै उद्योगतर्फ उन्मुख भएको जानकारी गराए। ११औं अटो ट्रेड डायलग कार्यक्रममा दक्षिण अफ्रिकाका डेपुटी हाई कमिस्नर सेड्रिक सि क्रोवेली, जर्मनीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा। सेभने हलड्रोन, भारतका लागि ब्राजिलका राजदूत एच।इ। केनेथ एफ।एच। दा नोब्रेका लगायतका प्रतिष्ठित व्यक्तिहरूले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा व्यापार सम्झौताहरूमा एकीकृत लगानीबारे छलफल भएकाे थियाे । दोस्रो चरणमा स्थानियकरण गरिएका नीतिहरू र तिनले व्यापारमा पार्ने प्रभावबारे विचार विमर्श गरिएकाे थियाे भने तेस्रो चरणमा विकसित विश्वव्यापी व्यापार परिदृश्यमा लचिलोपना विकास गर्न आवश्यक विषयमा छलफल गरिएकाे थियाे ।

११औं अटो ट्रेड डायलग भारतको नयाँ दिल्लीमा जनवरी १७ देखि २१ सम्म आयोजना गरिएको भारत मोबिलिटी अटो प्रदर्शनीको सन्दर्भमा भएको हो। यस अवसरमा नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको प्रतिनिधिमण्डल पनि भारत भ्रमणमा रहेका छन् । टोलीमा संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरुन्द्रकुमार उप्रेती, तथा केन्द्रीय सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधानको उपस्थिति रहेको थियो।