आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । कम्पनीले माघ ९ गतेदेखि ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज ९माघ १३ गते० अन्तिम दिन रहेको छ। फाइनान्सले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८’ निष्काशनमा ल्याएको हो।

फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले फाइनान्सलाई केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।