निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको गुनासो गर्नु सान्दर्भिक : अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताएका छन् ।

महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना गरेको अर्थतन्त्रसम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानी दायित्व सबै पुरा गरिसकेको बताए ।

उनले अघिल्लो वर्षको दायित्व चालु आर्थिक वर्षको बजेटमार्फत भुक्तानी गर्नु पर्दा केही समय अप्ठेरो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व व्यहोरेर अघि बढेको बताए ।

अर्थमन्त्रीले भने, ‘निर्माण व्यवसायीहरुको गत वर्षको सिर्जित भुक्तानी बाँकी थियो । गत वर्षको भुक्तानी ठूलो आकारको दायित्व सहित सरकारको काँधमा आएको थियो । भुक्तानी दायित्व व्यवस्थापन गर्ने क्रममा सरकारले विभिन्न मन्त्रालयहरुले प्राथमिकताका साथ गृहकार्य गरेको थियो । कानूनसम्मत रुपमा दाबी गरेको भुक्तानी हुँदै आएको हो । अघिल्लो वर्षको भुक्तानी सकेर कसैले विधिपूर्वक भुक्तानी माग्दा सहज रुपमा पाउने अवस्थामा आएका छांै । भुक्तानी दायित्व आज भन्दा पनि विगतको दायित्व थियो । त्यो दायित्वबाट सरकार बाहिर निस्किएको छ । निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको भन्ने विषय सान्र्दभिक देखिँदैन । सरकारले गत वर्षको समेत दायित्व पूरा गरेर निर्माण व्यवसायीहरुले दाबी गरेको भुक्तानी पाउनुहुन्छ ।’

अघिल्लो वर्षको भुक्तानी सकेर विधिपूर्वक भुक्तानीका लागि आएका दाबीलाई सहज रुपमा निर्माण व्यवसायीहरुले पाउने अवस्था आएको उल्ल्ेख गर्दै अर्थमन्त्रीले भुक्तानी दायित्वबाट सरकार बाहिर निस्किएको भन्दै अब निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको गुनासो गर्नु सान्दर्भिक नदेखिने बताए ।

अर्थमन्त्रीले बैंकहरुको महत्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको बताउँदै घरजग्गा कारोबार चलायमान हुनसक्दा समग्र अर्थतन्त्रमा प्रभावित बनेको बताए ।

मापदण्ड पूरा गरेर नै बैंकहरुले घरजग्गामा लगानी गरेको भन्दै घरजग्गा कारोबार गर्ने व्यवसायीहरुलाई मात्रै गाली गरेर अर्थतन्त्र सुधारको जिम्मेवारी पूरा हुन नसक्ने अर्थमन्त्री पौडेलको भनाई छ ।

अर्थमन्त्री पौडेलले भने ‘बैंकहरुको महत्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको छ । घरजग्गा कारोबार चलायमान हुनसक्दा समग्र अर्थतन्त्रमा परेको कुरा सत्य हो । घरजग्गा कारोबार गर्ने व्यवसायीहरुलाई मात्रै गाली गरेर जिम्मेवारी पूरा हुँदैन । घरजग्गा कारोबारमा भएको समस्या समाधान गर्नु निजी क्षेत्र र सरकारको साझा विषय हो । नीतिगत रुपमा सरकारले सहजिकरण गर्न आवश्यक छ ।’

सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि अध्यादेश ल्याएको जिकिर गर्दैै अर्थमन्त्री पौडेलले अध्यादेशमार्फत लगानीको वातावरण सहजिकरण गरेको उल्लेख गरे । उनले सरकारले अध्यादेशमार्फत गरेको निति परिमार्जनले निजी क्षेत्रको आत्मबल बढेको दाबी गरे ।