निजामति विधेयकबारे लोकसेवा आयोगसँग संसदीय उपसमितिको छलफल


काठमाडाैँ । संघीय निजामति विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभाअन्तर्गतको संसदीय उपसमितिले लोकसेवा आयोगसँग छलफल गरेको छ ।

आईतवार उपसमितिले लोकसेवा आयोगका पदाधिकारीहरुसँग छलफल गरेको हो । उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसमितिका संयोजक एवं नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामति सेवा ऐनको तयारीमा आफूहरु लागिरहेको र संघीय निजामति सेवा ऐनको गठन, सञ्चालन, सेवा र शर्तका सम्बन्धमा प्रश्तावित विधेयकमा धेरै छलफल भइसकेको बताए ।

मुलुकमा संघीयता लागू भइसकेपछि विधेयकलाई अझै अगाडि ल्याउनुपर्नेमा नसकिरहेको अवस्था रहेको उनले उल्लेख गरे । अहिले आएको विधेयक धेरै पक्षलाई समेटेर आएको उल्लेख गर्दै यसलाई टुंग्याउन केही विवादित विषयहरु देखिन थालेपछि आन्तरिक गृहकार्य गरेको बताए ।

विधेयकमा केही नीतिगत विषयहरुमा स्पष्ट हुनसके विधेयकको दफामा धेरै समय छलफल गरिरहन नपर्ने उल्लेख गरे । १४ वटा विषयहरु सहमतिका लागि तयार पारेको उल्लेख गरे । संघीय निजामति सेवा समेत तहगत प्रणालीमा लैजाने भन्ने सांसदहरुबिचको छलफल भएको र प्रश्तावहरु दुवै किसिमले आएको बताए । 

उनले संघमा तहगत र श्रेणी एकसाथ जानेगरी सहमति गरेको पनि उल्लेख गरे । कुलिङ पिरेड राख्नुपर्नेमा अधिकांश सांसदहरु सहमत रहेको उनले जिकिर गरे। तोकिएको समयभित्रै उपसमितिले प्रतिवेदन समितिलाई बुझाउने उनले बताए ।