नेपालको पत्रकारिताको इतिहास १२० वर्षको यात्रामा छ । गोरखापत्रले १९५८ वैशाख २४ बाट सुरु गरेको पत्रकारिताले राणाकाल, प्रजातन्त्रको दशक, पञ्चायतकाल हुँदै २०४६ सालको जनआन्दोलन हुँदै २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनसमेतमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
विश्वमा विकास भएको पत्रकारिताको छापा, रेडियो, टेलिभिजन र इन्टरनेट पत्रकारिताको विकाससँग साक्षात्कार गर्दै नेपालको पत्रकारिता प्राविधिक हिसाबले विश्वको पत्रकारितासँगसँगै अगाडि बढिरहेको छ । कानुनी रूपमा नेपालको संविधान र नेपालका विद्यमान कानुनले नेपाल पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । यद्यपि, जनमुखी, उत्तरदायी र इमान्दार पत्रकारिताको भने अझै खाँचो महसुस गरिएको छ ।
नेपालमा इतिहासदेखि वर्तमानसम्म राजनीतिक घटनाक्रमको उताव-चढाव चलिरहेको छ । यस्तोमा पत्रकारिताले पनि राजनीतिक विषयवस्तुमा केन्द्रीत हुनुपर्ने बाध्यता जस्तै बनेको छ । राजनीतिलाई सबै नीतिको मियो मानिने गरिए पनि अर्थनीतिले सबै नीतिको मेरुदण्डको काम गरिरहेको हुन्छ । विश्वभरिका सबै खालका आन्दोलन क्रान्ति वा सङ्घर्षहरूका पछाडिको कारक भने आर्थिक नै हुन्छ । जब आमनागरिकहरूको आयस्तर कमजोर हुन्छ वा आयगत असमानता बढ्छ, त्यो असन्तुष्टि र विग्रहको कारक पनि हुने गर्छ । विशेषत अल्पविकसित र गरिब मुलुकमा सङ्घर्ष वा द्वन्द्व बढी चर्किनुको मूल कारक पनि यही नै हो ।
यसै सिलसिलामा आर्थिक पत्रकारितालाई पनि जोडेर हेर्नु पर्ने हुन्छ । विश्वमा आर्थिक पत्रकारिताको विकास चौधौ शताब्दीदेखि भएको मानिए पनि नेपालमा गोरखापत्र र पहिलो आर्थिक पत्रिका उद्योगपछि आर्थिक पत्रकारिताको विकास आरम्भ भएको हो । १९९२ भदौ १ देखि उद्योग व्यवसाय तथा साहित्यसम्बन्धी सामग्री मिसिएको उद्योग पाक्षिक पत्रिका प्रकाशन हुन थालेको थियो । व्यावसायिक रुपमा भने २०४९/५० सालपछि मात्र आर्थिक पत्रकारिताले गति पाएको हो
मुलुकको आर्थिक विकासको लागि पनि पत्रकारिताको भूमिका बढ्दो छ । एकातिर आर्थिक र अर्कोतर्फ राजनीतिक पत्रकारिताले आआफ्नो गति समाइरहेको र पछिल्लो समयमा डिजिटल पत्रकारिताको बहाव बढी रहेको समयमा टक्सार मिडिया ग्रुपले नेपालको अर्थ-राजनीतिक, अर्थ-सामाजिक दिशाबोधका रुपमा टक्सार प्रिमियम आर्थिक म्यागजिनको डिजिटल गन्तव्यका रुपमा टक्सारन्युज.कम आरम्भ गरेका छौं । मुलुकको विकासको लागि भने अर्थ-राजनीतिक पत्रकारिताले थप योगदान गर्न सकिन्छ भन्ने हाम्रो ठम्याइ छ ।
प्रतिक्रिया दिनुहोस्