फ्लोअपः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थपिँदै सुविधा, बजारीकरणको चुनौती


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि नेपाल एयरलाइन्स, एयर अरेबिया,सलाम एयर, थाइ स्माइल, श्रीलंकन एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमन एयर, चाइनिज एयरलाइन्सलगायतका वायुसेवा कम्पनीहरूले उडानका लागि चासो देखाएका छन् ।

भैरहवाको गौतमबुद्ध विमानस्थल २ जेठ २०७९ मा अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत भयो । नेपालमा हवाई उडान सुरु भएको करिब ७२ वर्षपछि सञ्चालनमा आएको दोस्रो अन्तर्राष्ट्रिय हवाई अड्डाको उद्घाटन उडानसँगै कुवेतको जजिरा एयरलाइन्सले हप्तामा तीन दिन उडान भर्न थालेको छ । 

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अप्ठेरो पर्दा विकल्पको रूपमा समेत प्रयोग गर्न सकिने भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरू भए पनि गर्नुपर्ने काम धेरै छ । खासगरी अन्तर्राष्ट्रिय विमानस्थलले ल्याउने आयामको सम्बोधनका लागि तीव्रताका साथ तयारी गर्नुपर्ने छ । 

विमानस्थल निर्माणताका लुम्बिनीमा विदेशी पर्यटक ओराल्ने मूल उद्देश्य छ तर अहिले भने नेपाली श्रमिकलाई विदेशबाट ल्याउने र लैजाने क्रम सुरु भएको छ । 

थपिँदै सुविधा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि अरू आवश्यक सुविधा थप गर्न थालिएको छ । श्रम स्वीकृति, मेडिकल, भिसा, रोजगारसम्बन्धी काम आरम्भ नहुँदा वैदेशिक रोजगारीमा जानेहरू संघीय राजधानी काठमाडौं धाउनुपर्ने बाध्यता हटाउन सम्बन्धित सरकारी निकायले तयारी थालेका छन् । 

विमानस्थलमा श्रम स्वीकृति सेवा सञ्चालनका लागि श्रम तथा रोजगार कार्यालय बुटवलले तयारी थालेको छ । जेठ तेस्रो साता विमानस्थलको अवलोकनमा आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भैरहवामा श्रम तथा रोजगार कार्यालय र विमानस्थलभित्र श्रम इकाई सञ्चालन गर्ने बताएका थिए । 

उनको निर्देशनअनुसार बुटवल कार्यालयले श्रम तथा रोजगार कार्यालय सञ्चालन गर्न तयारी थालेको श्रम तथा रोजगार कार्यालय बुटवलका सूचना अधिकारी कमल पौडेलले जानकारी दिए । 

“भैरहवामा शिक्षाका लागि खाद्यान्न कार्यक्रमको कार्यालयमा श्रम स्वीकृति प्रदान गर्ने कार्यालय स्थापना गर्ने निर्णयअनुसार कार्यालयको मर्मत सम्भार गर्न थालिएको छ,” उनले भने, “मर्मत सम्भार सकिएलगत्तै श्रम स्वीकृतिका लागि सेवा सुरु गरिनेछ ।” श्रम स्वीकृति सेवा सुरु गरेपछि भैरहवाको विमानस्थलबाट कुवेत जानेहरूको संख्या थप बढ्ने विमानस्थलको विश्वास छ । विमानस्थलका प्रवक्ता श्यामकिशोर साह श्रम स्वीकृतिको सेवा दिने कार्यालय भैरहवामा सञ्चालनमा आएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जानेहरूको संख्या बढ्ने बताउँछन् । 

“श्रम स्वीकृतिको सेवा यहींबाट सञ्चालन भएपछि विदेश जानेहरूको संख्या बढ्ने छ” उनी भन्छन्, “त्यससँगै अन्य वायुसेवा कम्पनीहरूले पनि यहाँबाट उडान सुरु गर्न अरु सहज हुनेछ ।” 

उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि करिब एक दर्जन वायुसेवा कम्पनीहरूले चासो देखाएका छन् । नेपाल एयरलाइन्स, एयर अरेबिया, सलाम एयर, थाइ स्माइल, श्रीलंकन एयरलाइन्स, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमन एयर, चाइनिज एयरलाइन्सलगायतका वायुसेवा कम्पनीहरूले उडानका लागि चासो देखाएका छन् । यीमध्ये एयर अरेबियाले छिटै नै उडान थाल्ने सूचना पाएको उनले बताए । 

“तराई र पश्चिम क्षेत्रका मानिसलाई यो विमानस्थल प्रयोग गर्न सजिलो हुन्छ, यहाँ सुविधा थपिँदै गए भने अरु वायु सेवा कम्पनीहरू पनि आउन थाल्छन्,” उनी भन्छन्, “त्यसका लागि यो क्षेत्रमा कुनै पनि सुविधाको कमी हुनु हुँदैन ।”

उनका अनुसार अहिले ट्याक्सी र होटल सुविधा व्यवस्थित भइसकेको छैन । ट्याक्सी सेवा अस्थायी रूपमा सञ्चालन गरे पनि होटल व्यवसायीले अझै तयारी नगरिसकेको उनी बताउँछन् । 

विमानस्थलमा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले समेत पोष्ट स्थापना गरिसकेका छन् । विमानस्थलको सुरक्षार्थ जासुसी कुकुरको शाखा पनि स्थापना गरिएको छ । 

“स्थानीयस्तरमा यात्रुका लागि सहज सार्वजनिक यातायात र यात्रुलाई बस्न होटल व्यवस्था हुने हो भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आकर्षण बढ्दै जाने हो,” उनी भन्छन्, “विमानस्थलमात्रै राम्रो भएर पुग्दैन, योसँगै यहाँ आउने यात्रु, एयरलाइन्सका कर्मचारीहरूले विश्वास जित्नसक्ने गरी यहाँका होटल व्यवसायी, यातायात व्यवसायी, स्थानीय सरकार, प्रदेश सरकारले पनि आफूले सक्ने सुविधा दिनुपर्छ, अनिमात्रै यो विमानस्थल राम्रोसँग चल्न सक्छ ।”

विमानस्थलमा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले समेत पोष्ट स्थापना गरिसकेका छन् । विमानस्थलको सुरक्षार्थ जासुसी कुकुरको शाखा पनि स्थापना गरिएको छ । 

व्यवसायी उत्साहित, सेवा सुधारको तयारी 

विमानस्थल सञ्चालनमा आएपछि सबैभन्दा बढी उत्साहित हुनेमा व्यवसायी नै पर्छन् । पर्यटन, यातायात व्यवसायीदेखि म्यानपावर कम्पनीहरू भैरहवा क्षेत्रमा व्यवसाय सञ्चालनका लागि राम्रो वातावरण बनेको बताउँछन् । तर, राम्रो वातावरण बनेको बताउने व्यवसायीहरूले सेवासुविधा दिनका लागि पर्याप्त तयारी भने गरेकै छैनन् । 

विमानस्थललक्षित पाँचतारे होटल सञ्चालनमा आए पनि विमानस्थलमा आउने यात्रु लक्षित सेवा दिन सकिरहेका छैनन् । राति आउने यात्रुका लागि विमानस्थलबाट सहज रूपमा पुग्ने सुविधासहितका होटल पनि छैनन् भने वैदेशिक रोजगारीमा जाने तल्लो–मध्यम आय भएका यात्रुका लागि सहुलियत दरका होटल पनि छैनन् । होटल व्यवसायी त्यसको तयारी गरिरहेको बताउँछन् । 

सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश  (सीपी) श्रेष्ठ लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर होटल क्षेत्रमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको बताउँछन् । विदेश जाने आउने श्रमिक र बौद्धमार्गीहरूका कारण होटल व्यवसाय फस्टाउने उनको विश्वास छ । “विमानस्थलबाट जति धेरै देशमा हवाई उडान हुन्छ, त्यति होटल व्यवसायले लाभ लिनसक्छ” उनी भन्छन्, “अरु धेरै देशमा उडान बढ्दै गएमा अहिलेको होटलको पूर्वाधार अपुग हुनसक्छ ।”

उनका अनुसार भैरहवा र लुम्बिनीमा पर्यटक लक्षित एक सयभन्दा बढी होटल छन् । रुपन्देहीमा एक हजार पाँच सयभन्दा बढी होटल र करिब एक हजार रेस्टुराँ सञ्चालनमा छन् । 

छैनन् पर्यटक आकर्षणका कार्यक्रम

सन् १९९४ मा लुम्बिनीमा तेस्रो मुलुकका २० हजार ९ सय ७२ पर्यटकले भ्रमण गरेका थिए । सन् २०२१ मा आइपुग्दा यो संख्या वृद्धि हुनुको सट्टा घट्दो छ । सन् २०२१ मा १ हजार १ सय ९७ र सन् २०२२ को ५ महिनामा २ हजार ७ सय ३७ पर्यटक लुम्बिनी आए । सन् २०१६ मा १ लाख ३६ हजार २ सय ५३ जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । 

लुम्बिनी विकास कोषका अनुसार सन् २०१८ मा १ लाख ७० हजार विदेशी र नेपाली र भारतीय गरी करिब १५ लाख पर्यटक लुम्बिनी आएका थिए । कोभिड–१९ महामारीका कारण लुम्बिनी आउने पर्यटकको संख्या घट्यो । 

सन् २०२० मा २ लाख १० हजार ३३ जना, सन् २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ जना नेपालीले लुम्बिनी भ्रमण गरे । सन् २०२० मा ३७ हजार २ सय ६ जना र २०२१ मा ४३ हजार ७ सय ३२ जना भारतीय पर्यटक लुम्बिनी दर्शनका लागि आए । 

कोषका अनुसार पछिल्लो समय लुम्बिनी आउने आन्तरिक र भारतीय पर्यटकको संख्या बढ्दो छ । तेस्रो मुलुकका पर्यटकको संख्यामा पनि केही सुधार देखिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई बताउँछन् । आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गए पनि विदेशी मुद्रा भित्र्याउने तेस्रो मुलुकका पर्यटकको संख्या भने अपेक्षित रूपमा बढ्न सकेको छैन । 

विमानस्थल सञ्चालनमा आएपछि सबैभन्दा बढी उत्साहित हुनेमा व्यवसायी नै पर्छन् । पर्यटन, यातायात व्यवसायीदेखि म्यानपावर कम्पनीहरू भैरहवा क्षेत्रमा व्यवसाय सञ्चालनका लागि राम्रो वातावरण बनेको बताउँछन् । तर, राम्रो वातावरण बनेको बताउने व्यवसायीहरूले सेवासुविधा दिनका लागि पर्याप्त तयारी भने गरेकै छैनन् । 

भैरहवाको विमानस्थल हुँदै दैनिक १६ देखि २० हजार पर्यटक लुम्बिनी पु-याउने लक्ष्य सरकारको छ । यस्तै, सन् २०३३ सम्म वार्षिक ६० लाख विदेशी पर्यटक लुम्बिनी ल्याउने सरकारी लक्ष्य छ । तर, लुम्बिनी आउने पर्यटकको बसाइ औसतमा एक रात पनि छैन । सरकारको महत्वाकांक्षी लक्ष्य पछ्याउनका लागि पर्यटक आकर्षित गर्ने कुुनै कार्यक्रम छैनन् । 

लुम्बिनीमा पर्यटक आकर्षित गर्नका लागि टुर प्याकेजका कार्यक्रम र लुम्बिनीमै विविध संस्कृति झल्किने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने संस्कृतिविद् डा. गीतु गिरी बताउँछन् । “बौद्धमार्गीहरूलाई लुम्बिनीमा भुल्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ,” उनी भन्छन्, “उनीहरूले लुम्बिनीमा शान्तिपूर्ण वातावरण, बौद्ध संस्कृति, बौद्ध इतिहास, बौद्ध कला जोडिएका चीजहरू हेर्न चाहन्छन्, त्यस्तो वातावरण भयो भने मात्रै उनीहरू यहाँ रोकिन सक्छन् ।”

यस्ता कार्यक्रम सञ्चालनका लागि कोषले पर्यटन बोर्डसँग सहकार्य गरी कार्यक्रम अघि बढाउने लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराई बताउँछन् । 

“बोर्डको पर्यटन प्रवद्र्धन कार्यक्रममा लुम्बिनी सधैं समावेश नै छ, तर थप पर्यटक ल्याउनका लागि थप कार्यक्रम सञ्चालन गर्नेबारे हामीले योजना बनाएर काम गर्दैछौं,” उनले भने, “त्यसका साथसाथै लुम्बिनी क्षेत्रमा पर्यटक आएर भुल्ने वातावरण तयार गर्नका लागि पनि हामीले केही कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं र थप कार्यक्रम ल्याउने तयारीमा छौं ।” 

भाडा सस्तो 

नागरिक उड्ड्यन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने एयरलाइन्सलाई छुट दिएपछि हवाई भाडा पनि सस्तो पर्ने भएको छ । प्राधिकरणले जहाज अवतरण, पार्किङ, सञ्चार तथा उडड्यन सहायता सेवा र सुरक्षा जाँच शुल्क छुट दिएको विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए । 

जजिरा एयरवेजको एयरबस ३२० निओ जहाजले प्रतिउडान करिब दुुई लाख रुपैयाँ छुट पाएको छ । उनका अनुसार यसरी छुट दिएपछि भैरहवाबाट कुवेत जाँदा आठ हजार रुपैयाँ भाडा सस्तो छ । यस्तो छुट दिने निर्णयपछि गौतमबुद्ध विमानस्थलमा वायुसेवा कम्पनीको आकर्षण बढ्ने विमानस्थलको अपेक्षा छ । १ सय ७४ यात्रु क्षमता आएको जजिराले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ । जजिराले दैनिक उडान थाल्नेबारे विमानस्थलसँग छलफल गरिरहेको छ । 

विद्युतीय बस चलाउने तयारी

विमानस्थल र लुम्बिनी आसपासमा सञ्चालन गर्न ल्याइएका विद्युतीय बस सञ्चालनका लागि लुम्बिनी विकास कोषले तयारी थालेको छ । 

कोषले कोषाध्यक्ष भट्टराई सिद्धिचरणको संयोजकत्वमा कार्यदल बनाएर विद्युतीय गाडी सञ्चालन कार्यविधि बनाउने निर्णय गरेको हो । 

एसियाली विकास बैंक (एडीबी)को करिब ३५ करोड रुपैयाँ अनुदानमा डेढ वर्ष पहिले लुम्बिनी आएका पाँचवटा बस र १४ वटा ट्याक्सी सञ्चालनको कार्यविधि नबन्दा अलपत्र अवस्थामा राखिएका छन् ।

एसियाली विकास बैंक (एडीबी)को करिब ३५ करोड रुपैयाँ अनुदानमा डेढ वर्ष पहिले लुम्बिनी आएका पाँचवटा बस र १४ वटा ट्याक्सी सञ्चालनको कार्यविधि नबन्दा अलपत्र अवस्थामा राखिएका छन् । 

विमानस्थल आएका पर्यटकलाई लुम्बिनी पु-याउने र लुम्बिनी आसपासमा घुमफिरका लागि प्रयोग गर्ने गरी कार्यविधि बनाउने भट्टराईले बताए । “विमानस्थल, लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रुपन्देहीकै देवदहलगायतका बुद्ध सर्किट क्षेत्रमा सञ्चालन गर्ने गरी कार्यविधि बन्नेछ र त्यसअनुसार यी विद्युतीय गाडी सञ्चालन हुनेछन्,” उनले भने ।

सबै क्षेत्र मिलेर विमानस्थललाई चलाउनुपर्छ

गोविन्दप्रसाद दाहाल

महाप्रबन्धक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ देखि सञ्चालन भयो । विमानस्थलमा कुवेतको जजिरा एयरले उडान सुरु गरेको छ । अहिले हप्ताको तीनवटा जहाज आउने–जाने गर्छन् । पर्यटक यात्रुको अवस्था सुधार हुन थालेको छ । यहाँ श्रम स्वीकृति, मुद्रा विनिमिय, रोजगारका क्षेत्रमा सुधार भएमा यहाँबाट उडान गर्ने यात्रुको संख्या बढ्दै जाने र त्यसैअनुसार वायु सेवा कम्पनीहरू पनि आउनेछन् । यो विमानस्थलले लुम्बिनी प्रदेशमात्रै हैन, पूर्व मेचीदेखि महाकालीसम्मको क्षेत्र समेट्न सक्छ ।

आन्तरिक उडान पनि यहाँबाट अरु बढाउन सक्छौं । विभिन्न वायुसेवा कम्पनीले चाहना राखेका छन् । विदेशी कम्पनीहरूले पनि उडानका लागि चासो देखाइरहेका छन् । यहाँबाट दैनिक ८–१० वटा सम्म उडान हुनसक्छन् भन्ने खालको हाम्रो अनुमान छ । विदेशी वायु सेवालाई नेपाल सरकारले विमानस्थलमा अवतरण गरेवापत् अवतरण, सुरक्षा, पार्किङलगायतका छुटहरू दिएको छ । जजिरा एयरले एक लाखजतिको छुट प्रत्येक उडानमा पाएको छ । अरु एयरलाइन्सहरूले पनि त्यो छुट पाउनेछन् । 

यहाँबाट अन्तर्राष्ट्रिय उडान बढ्दै गएपछि त्यो लगानीको प्रतिफल आउन सुरु हुनेछ । ३० अर्ब लगानी गरेर बनाएको यो विमानस्थल आफै पनि अहिले घाटामा छ । महिनाको २–३ करोड रुपैयाँ त घाटा नै छ । आन्तरिक उडानबाट मात्रै त्यस्तो नाफा हुँदैन । भन्सार पनि राम्रोसँग चलेको छैन । यसर्थ, यो विमानस्थललाई जसरी पनि आयमूलक र लाभ लिनसक्ने अवस्थामा पु-याउनुपर्छ । त्यसका लागि हामी सबै क्षेत्रहरू मिलेर अघि बढ्नुपर्छ ।

यहाँबाट हामीले कृषिजन्य वस्तुहरू, पशुजन्य, औषधिजन्य वस्तुहरू र खानेपानी पनि निर्यात गर्न सक्छौं । हामीलाई चाहिने पाटपुर्जा, मेसिनरी सामानहरू सीधै ल्याउन सक्छौं । त्यसले यहाँको पर्यटन, कृषि, उद्योग, यातायात व्यवसाय क्षेत्रमा पनि राम्रो प्रभाव पार्न सक्छ । विमानस्थलका भौतिक पूर्वाधार सम्पन्न भइसकेका छन् । यहाँ अधिकांश सुविधाहरू र केही थप सुविधा यो विमानस्थलमा छन् । त्रिभुवन विमानस्थलमा बस्न नसकेका जहाजहरू यहाँ सजिलै आएर बस्न सक्छन् ।

यहाँ भन्सार, इमिग्रेसन, स्वास्थ्य सेवा, नेपाल प्रहरी, नेपाल आयल निगम, क्वारेन्टाइनलगायतका सरकारी निकायहरू पनि यहाँ आइसकेका छन् । यसकारण पनि यो विमानस्थल अब पूर्ण रूपमा तयार भइसकेको छ । अब यहाँका पर्यटन व्यवसायी, यातायात व्यवसायी, स्थानीय सरकार, प्रदेश सरकारले यो विमानस्थललाई कसरी उपयोग गर्न, लाभ लिन सकिन्छ भनेर त्यसैअनुसारका योजना बनाएर काम गर्न थाल्नुपर्छ । यसले यो प्रदेश, यो क्षेत्रको मात्रै हैन, देशकै आर्थिक विकासमा मद्दत पुग्नेछ । यहाँका होटल, पर्यटन व्यवसाय फस्टाएर जानेछ । यहाँका कृषिजन्य उत्पादनहरू हामीले विदेश लैजान सक्छौं । 

यो क्षेत्रमा ५०–६० अर्बको लगानी निजी क्षेत्रले गरेको छ होला । यहाँबाट अन्तर्राष्ट्रिय उडान बढ्दै गएपछि त्यो लगानीको प्रतिफल आउन सुरु हुनेछ । ३० अर्ब लगानी गरेर बनाएको यो विमानस्थल आफै पनि अहिले घाटामा छ । महिनाको २–३ करोड रुपैयाँ त घाटा नै छ । आन्तरिक उडानबाट मात्रै त्यस्तो नाफा हुँदैन । भन्सार पनि राम्रोसँग चलेको छैन । यसर्थ, यो विमानस्थललाई जसरी पनि आयमूलक र लाभ लिनसक्ने अवस्थामा पु-याउनुपर्छ । त्यसका लागि हामी सबै क्षेत्रहरू मिलेर अघि बढ्नुपर्छ ।

(टक्सार म्यागजिन, असार २०७९, पृष्ठ १८–२१)