‘नाडा अटो शो २०२५’ को स्टल बुकिङ खुल्ला, १७औं संस्करण भाद्र ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने


काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) द्वारा आयोजित ‘नाडा अटो शो २०२५’ का लागि स्टल बुकिङ खुल्ला गरिएको छ। यही फागुन २७ गतेदेखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि दर्ता खुला गरिएको नाडाले जनाएको छ।

आगामी भाद्र ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुन लागेको यो अटो शोको १७औं संस्करण हो। प्रदर्शनीमा २-पाङ्ग्रे, ३-पाङ्ग्रे, ४-पाङ्ग्रे सवारी साधनका साथै लाइट कमर्सियल भेहिकल, अटो कम्पोनेन्ट्स, ग्यारेज उपकरण तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले भाग लिन सक्नेछन्।

स्टल बुकिङका लागि उच्च माग भएकाले यस वर्ष पनि गोला प्रथाद्वारा स्टल वितरण गरिने आयोजकले जनाएको छ। भारत र चीनका अटोमोबाइल कम्पनीहरू समेत यस अटो शोमा चासो राखिरहेकोले यस पटक छिटै दर्ता खुला गरिएको हो।

नाडा अटो शो समितिका सह-संयोजक अनुपकुमार बरालका अनुसार सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी तथा उपभोक्ताहरूका लागि यो अटो शो नवीनतम प्रविधिहरू अवलोकन गर्ने अवसर हो। साथै, अर्थतन्त्रमा राजस्व संकलन तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा पनि यसले सकारात्मक योगदान पुर्याउने विश्वास आयोजकको छ।