काठमाडाैँ । स्वास्थ्य बिमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
शुक्रवार स्वास्थ्य बिमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै उनले बोर्डले प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले बोर्डले दिने सेवा प्रभावकारी बनाउन सुशासनको महत्वपूर्ण भुमिका रहने भएकाले सुशासन कायम गर्न लागि पर्ने बताए ।उनलेआफ्नो कार्यकालमा सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चित गर्ने दाबी गरे ।
“मैले चार वर्षको अवधिमा चार प्लस एक पाँच काम गरेर बाहिरिने छु । एउटा युनिभर्सल हेल्थ कभरेज सर्वव्यापी स्वास्थ्य सहभागिता सुनिश्चत गर्नेछु । दोस्रो वित्तीय दीगोपना स्वास्थ्य बिमा बोर्डमा वित्तीय दिगोपना स्थापित गर्ने कुरामा मेरो महत्वपूर्ण भूमिका रहने छ । तेस्रो विषय बोर्डले प्रवाह गर्ने अर्थात बोर्डले सेवाप्रदायक संस्थाहरुमार्फत् प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय हुने छन् । त्यसमा अहिले दिइ राखेको सेवामा थप गुणस्तरीयता र सहजता प्रदान गरिने छ । चौथो विषय बोर्डको संस्थागत क्षमता सुदृढ बनाउने कुरा रहने छ । यी चारवटा विषय मेरा चार वर्षका प्रतिवद्धता हुन् । र यसमा अर्को एउटा महत्वपूर्ण विषय चारवटै विषयमा जोडिने मैले चार प्लस एक भनेर सुशासनलाई भनेको छु,” उनले भने ।
कार्यकारी निर्देशक डा. काफ्लेले सात सय ५३ वटै पालिकाबाट बिस्तारित स्वास्थ्य बीमाबाट लाखौँ सर्वसाधारण लाभान्वित भएको बताए । सेवा प्रवाहमा देखिएका समस्याहरु बोर्डले नीतिगत निर्णय गरेर समाधान गर्ने उनको भनाइ छ । उनले सेवा प्रवाहका लागि देखिएका आर्थिक समस्याहरु सरकारसँग सहकार्य गरेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। डा. काफ्लेले अहिले भइरहेको स्वास्थ्य सेवाको प्याकेजमा पुनरावलोकन गर्ने बताए । सेवा प्रदायकलाई आश्वस्थ पारेर स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थागत रुपमा अगाडि बढाउने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्