अन्तिम समयमा हुने अस्वभाविक चलखेल रोक्न नेप्सेको नयाँ नियम, आजदेखि लागू हुँदै


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र अन्तिम कारोबार मूल्य निर्धारणको नयाँ व्यवस्था लागू गरेकाे छ ।

नेप्से सञ्चालक समितिको मिति २०८१ चैत ५ गते बसेको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ‘कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१’ अनुसार नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

धितोपत्र दोस्रो बजारमा कारोबारको अन्तिम समयमा हुने अस्वाभाविक चलखेललाई रोक्न नेप्सेले भारित औसतका आधारमा मूल्य निर्धारण गर्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार नियमित कारोबार सत्रको अपरान्ह २:४५ बजेदेखि ३:०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिनेछ ।

जसअनुसार अबदेखि अन्तिम १५ मिनेटमा कुनैपनि काराेबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिनेछ ।

नेप्सेले यो नयाँ प्रणाली आजदेखि लागू हुने जानकारी गराएको छ । यस व्यवस्थाले बजार पारदर्शिता बढाउने तथा लगानीकर्ताहरूलाई स्पष्ट मूल्य संकेत प्रदान गर्ने नेप्सेको विश्वास छ ।

नेप्सेले ओपनिङमा माग र आपूर्तिको आधारमा प्रणालीबाटै कम्पनीको औसत मूल्य निर्धारणको व्यवस्था कार्यान्वयन गरिरहेकोमा क्लोजिङमा पनि पहिलो पटक लागू गरेको हो ।