खाद्य सुरक्षा र व्यावसायिक खेतीमा जोड दिनुपर्ने सराेकारवालाहरूकाे भनाइ


काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि खाद्य सुरक्षा तथा व्यावसायिक खेतीका बारेमा फरक ढंगले सोचेर काम गर्नुपर्ने बताएका छन् ।

सोमवार सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले खाद्य सुरक्षाका साथसाथै कृषिलाई व्यावसायिकरण गर्नुपर्नेका जोड दिएका हुन् । सचिव डा. शर्माले खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोड्नुपर्ने बताए । उनले धनी देशहरूले पनि खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षाको  विषयलाई संवेदनशील ढंगले सोच्न थालेको बताए ।

उनले पहिला खाद्य सुरक्षा गरेर कृषिलाई व्यावसायिकरण गर्नुपर्ने बताए । नेपालमा जीविको पार्जनका लागि गरिने कृषि विस्थापित भइरहेको उनको भनाइ छ । उनले आम्दानी बढ्ने भएकाले व्यवसायिक कृषि प्रणालीमा किसानको आकर्षण बढ्न थालेको बताए ।

“फुड सेक्युरिटीलाई नेश्नल सेक्युरिटीसँग आवद्ध गर्ने भन्नेकुरा छ । पहिलो प्राथकिता फुड सेक्युरिटी हुनुपर्छ । कमर्सलाइजेसन पनि हुन्छ । सस्टेन्यबल कमर्सलाइजेसन फुड सेक्युरिटी नै हो किनभने अहिले धनी देश होस् चाहे गरिब देश होस् खाद्य सुरक्षाको दृष्टिबाट धेरै सेन्सेटिभ बन्दै गएका छन् ,”उनले भने ।

कृषि, सहकारी तथा पशुपन्छी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले एकात्मक नीतिलाई संघीयता अनुरूप कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नीति नियम धेरै बनाउँदा कार्यान्वयमा समस्या आउने उनको भनाइ छ ।

समितिको बैठकमा विज्ञहरूले किसानलाई पेन्सन दिने व्यवस्थाका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्नेमा जोड दिएका छन् । किसानको पेन्सन सुविधाका लागि राज्यले गर्नसक्ने योगदानका बारेमा नीति बनाएर प्रवद्र्धन गर्नुपर्ने उनीहरूको भनाइ छ ।