काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले आजदेखि ७ वर्षे अवधिको ७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८ नामक ऋणपत्रमा आवेदन खुला गरेको हो ।
बैकले प्रतिकित्ता अंकित मूल्य एक हजार रुपैयाँमा कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानीकताले वार्षिक सात प्रतिशत व्याजदर प्राप्त गर्नेछन्।
दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता निजी तवरबाट बिक्री गरिने र ४० प्रतिशतले हुने रु एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन बाट बिक्री गरिने विवरणपत्रमा उल्लेख गरिएको छ ।
सर्वसाधारणलाई निष्काशन हुने ४० प्रतिशत मध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३५ प्रतिशत अर्थात ९ लाख ५० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरिएको छ ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम कूल २५ कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । यस ऋणपत्रमा लगानीकर्ताले छिटोमा वैशाख १० गते र ढिलोमा बैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त ऋणपत्रलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्