काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाका प्रमुख अस्पतालहरूमा सञ्चालित क्यान्टिन, होटल तथा चमेनागृहहरूको स्थलगत निरीक्षण तथा खाद्य पदार्थको परीक्षण गरेको छ।
विभागले हालै पुनः सञ्चालनमा ल्याएको अत्याधुनिक सुविधासहितको मोबाइल फुड ल्याब भ्यानमार्फत वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शिक्षण अस्पताल (महाराजगञ्ज) लगायतका संस्थामा निरीक्षण र नमूना संकलन गरिएको हो।
२०८१ साल असोजदेखि सञ्चालनमा ल्याइएको यो मोबाइल ल्याब विभागले काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्दै संयुक्त अनुगमनको थालनी गरेको हो। २०८२ साल वैशाख ८ गते वीर अस्पताल परिसरमा रहेको सुनिल क्यान्टिन तथा गुजेश्वरी होटल प्रा.लि मा निरीक्षण गरिएको थियो।
निरीक्षणको क्रममा सरसफाइको अवस्था कमजोर देखिएको, केही खाद्य वस्तुमा लेबल विवरण अधुरो भएको, खाना पकाउने र भाँडा माझ्ने स्थान छुट्टाछुट्टै नरहेको र पकाइएको तथा काँचो खाद्यपदार्थ एउटै ठाउँमा भण्डारण गरिएको पाइयो तर, संकलित दूध, तेल, मह तथा पिउने पानीका नमूनाहरूमा परीक्षण गर्दा कुनै कैफियत फेला नपरेकाे विभागले जनाएकाे छ।
त्यसैगरी वैशाख ९ गते शिक्षण अस्पताल, महाराजगञ्जस्थित एम वी क्यान्टिन तथा सिद्धार्थ स्वीट एण्ड वेक्स प्रा. लि को निरीक्षण गर्दा पनि सरसफाइ, फोहोर व्यवस्थापन, ड्रेनेज र संरचनात्मक सुधार आवश्यक देखिएको थियो। क्यान्टिनका झ्याल–ढोकामा जाली नराखिएको, फोहोर व्यवस्थापन अव्यवस्थित रहेको र भुइँको टायल भाँचिएको पाइएको थियो।
खाद्यपदार्थको रूपमा प्रयोग भइरहेका केही वस्तुमा लेबल विवरण नहुँदा उपभोक्ताको स्वास्थ्यमा जोखिम हुन सक्ने भन्दै विभागले तत्काल सुधारको निर्देशन विभागले दिएको छ। तथापि, यहाँ पनि पिउने पानी, दूध र तेलको नमूनामा कुनै समस्या नदेखिएको उल्लेख गरिएको छ।
खाद्य विश्लेषक सुशन निरौलाको नेतृत्वमा खाद्य निरीक्षण अधिकारी तथा काठमाडौँ महानगरपालिकाका प्राविधिकको संयुक्त टोलीले निरीक्षणको सम्पूर्ण कार्य सम्पन्न गरेको हो। निरीक्षणका क्रममा संकलन गरिएका १२ वटा खाद्य नमूनाको तत्काल मोबाइल ल्याबमै परीक्षण गर्दा सबै नमूना गुणस्तरीय पाइएका छन्।
यद्यपि नमूनामा कैफियत नदेखिए पनि अधिकांश क्यान्टिन तथा होटलहरूमा सरसफाई तथा व्यवस्थापन पक्ष कमजोर भेटिएकोले सुधारात्मक कदम चाल्न विभागले स्पष्ट निर्देशन दिएको छ। खानेकुरा पकाउने स्थान र भाँडा माझ्ने स्थान छुट्टाछुट्टै राख्न, लेबल विवरणसहितको खाद्यपदार्थ मात्र प्रयोग गर्न तथा किचन र भण्डारण स्थान व्यवस्थित बनाउनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता अनुगमन कार्यलाई निरन्तरता दिइने बताएको छ। विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले अस्पतालजस्ता संवेदनशील स्थानमा सञ्चालित क्यान्टिनहरूमा विशेष ध्यान दिन र आम नागरिकलाई सुरक्षित तथा गुणस्तरीय खाद्यपदार्थ उपलब्ध गराउने लक्ष्यसहित यस्ता अनुगमन भइरहेकाे बताए ।
प्रतिक्रिया दिनुहोस्