‘खाद्यका लागि कृषि अभियान’ अन्तर्गतको जैविक कृषि जागरण यात्राको तेस्रो दिन सिन्धुलीमा सम्पन्न


काठमाडाैँ । ‘खाद्यका लागि कृषि अभियान’ले सञ्चालन गरिरहेको जैविक कृषि जागरण यात्राको तेस्रो दिन सिन्धुली जिल्लामा विभिन्न पालिकाका जनप्रतिनिधि, कृषक समूह, कृषि विद्यार्थी तथा प्राविधिकहरूसँग छलफल गरी सम्पन्न भएको छ।

मरिण गाउँपालिका–३ भालुमारामा रहेको महिला कृषक समूहसँग गरिएको छलफलमा कृषकहरूले चुरे क्षेत्रको जमिन कटान, सिंचाइ सुविधाको चरम अभाव र खेतीयोग्य जमिनको क्षतिको कारण जीविकोपार्जनमा गम्भीर चुनौती थपिएको गुनासो गरेका छन्।

कार्यक्रमको क्रममा अभियान संयोजक उद्वव अधिकारीले जैविक कृषि प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका र जिम्मेवारीबारे तयार पारिएको सुझावपत्र मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानलाई हस्तान्तरण गरेका थिए।

सुझावपत्र ग्रहण गर्दै अध्यक्ष मोक्तानले वडा नं। २ मा लघुवित्त संस्था र किसान समूहको सहकार्यमा नमुना जैविक खेती सुरू गरिएको जानकारी दिए। उनले जनस्वास्थ्य, माटो संरक्षण र दीगो कृषि विकासका लागि जैविक कृषि अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी, हरिहरपुरगढी गाउँपालिकाले १० विघा क्षेत्रफलमा जैविक बागवानी तथा १ विघामा रामपुर हाइब्रिड बीउ उत्पादन गरिरहेको जानकारी कृषि प्राविधिक प्रवेश देवकोटाले दिए ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज मरिणका करिब ५० जना स्नातक तहका कृषि विद्यार्थीहरूसँग भएको छलफलमा जैविक उत्पादन प्रणाली, व्यवस्थापन, उत्पादनका समसामयिक चुनौतीहरूबारे व्यापक बहस गरिएको थियो।

जागरण यात्राको तेस्रो दिनको समापन मकवानपुर जिल्लाको बागमती गाउँपालिका अन्तर्गत सूर्य माध्यमिक विद्यालयमा सम्पन्न भयो। सो विद्यालयले “पढ्दै कमाउँदै” कार्यक्रम अन्तर्गत ३ विघा जमिनमा जैविक खेती गरिरहेको छ। अन्तिम चरणमा विद्यालयका प्रतिनिधि र स्थानीय किसान समुदायसँग छलफल गरिएको थियो।

‘खाद्यका लागि कृषि अभियान’ले जैविक खेतीको प्रवर्द्धन, स्थानीय सरकारको सक्रियता र कृषक तथा युवा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ यो जागरण यात्रा सञ्चालन गरेको हो।