बौद्धिक सम्पतीसम्बन्धी नयाँ कानून निर्माणको तयारीमा छौँः उद्योगमन्त्री भण्डारी


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्तिसम्बन्धी कानूनलाई नयाँ ढंगले अगाडि बढाउने तयारी सरकारले गरिरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित ‘बौद्धिक सम्पत्ति दिवस’का अवसरमा बोल्दै मन्त्री भण्डारीले विश्वव्यापी बौद्धिक सम्पत्तिको प्रवृत्तिलाई ध्यानमा राख्दै नेपालमा नयाँ कानून आवश्यक भएको बताएका हुन्। उनले नेपाली मौलिकतासँग जोडिएका विषयहरूलाई लिपिबद्ध गरी पेटेन्ट अधिकार सुरक्षित गर्ने गरी नयाँ कानून निर्माण प्रक्रियामा सरकार लागेको जानकारी दिए।

“हाल समितिमा छलफलमा रहेको बौद्धिक सम्पत्तिसम्बन्धी विधेयकलाई छिट्टै मन्त्रिपरिषदबाट निर्णय गराएर संसदमा पेश गर्ने तयारीमा छौं,” मन्त्री भण्डारीले भने। हाल रहेको कानून उजुरीका विषयमा मात्र केन्द्रित भएर रहेको उल्लेख गर्दै उनले नयाँ कानूनले औद्योगिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन दुबैलाई ध्यानमा राख्ने बताए।

उनका अनुसार नेपालभन्दा पछाडि परेका केही देशहरूले आफ्ना पेटेन्ट अधिकार सुरक्षित गरेर विश्व बजारमा फड्को मारेका छन्। तर नेपालमा व्यवसायी, सरकार र न्यायालयबीच फरक बुझाइ र व्याख्याका कारण बौद्धिक सम्पत्ति संरक्षणमा समस्या देखिएको उनले उल्लेख गरे।

मन्त्री भण्डारीले पूर्खाबाट प्राप्त संस्कृतिसँग जोडिएका थुप्रै मौलिक सिर्जनाहरूको उचित संरक्षण हुन नसकेको र पेटेन्ट अधिकार नलिएर पछि परेको अवस्थाको उल्लेख गरे। उनले विदेशीको डिजाइन र पेटेन्टको नक्कल गरेर बजारमा वस्तु पठाउँदा आफ्नै मौलिकता र आविष्कार कमजोर बनेको बताए।

“अहिले पनि उद्योग विभागमा पेटेन्ट र डिजाइनसँग सम्बन्धित धेरै मुद्दाहरू झुन्डिएका छन्,” उनले भने, “हामीले अब आफ्नो मौलिकता, आविष्कार र डिजाइनलाई प्राथमिकता दिँदै त्यसको कानूनी संरक्षणमा जोड दिनुपर्छ।”

उनले निजी क्षेत्रलाई पनि उत्पादन र आविष्कारलाई प्राथमिकता दिएर बौद्धिक सम्पत्तिको संरक्षणमा अग्रसर हुन आह्वान गरे। मन्त्रालयले प्राविधिक पक्षमा विज्ञहरूसँग समन्वय गरी नयाँ कानूनका तयारीलाई तीव्र बनाएको जानकारी उनले दिए।

मन्त्री भण्डारीले मौलिक संस्कृतिजन्य सम्पत्तिको संरक्षण र संस्थागत पैरवीलाई सशक्त बनाउँदै नेपालले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरे।