काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा प्रतिफल पछिल्लो समय घट्दो आवस्थामा रहेको छ । एउटा वाणिज्य बैंकको लगानीमा प्रतिफल एक प्रतिशत पनि छैन । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा तीन ओटा वाणिज्य बैंकहरूको लगानीमा प्रतिफल(आरओई) २ प्रतिशतभन्दा कम छ ।
कम्पनीको वित्तीय कार्यसम्पादनको मापन आरओईबाट गर्ने गरिन्छ । आरओई शेयरधनीहरूले गरेको कुल लगानीको प्रतिफल हो । लगानीमा प्रतिफल (आरओई) कति प्रतिफल छ भन्ने मापन हो ।
आरओई घट्दै जानुको कारण नाफा घट्दै जानु, सम्पत्ति बढ्नु, दायित्व बढ्नु, प्रतिस्पर्धा, अर्थतन्त्र सुस्त हुनु, नीतिहरू परिवर्तन हुनु, स्प्रेड दरको क्याप हुनु मुख्य कारण भएकाे एक पूर्व बैंकरले बताए ।
आरओईबाट संस्था कतिको अब्बल छ र यसमा लगानी गर्दा कतिको प्रतिफल पाउँछु भनेर मापन गर्ने सूचक भएकोले पनि यसलाई महत्त्वपूर्ण मानिएको छ । आरओई घट्दै जानुको कारण लागत बढ्दै जानु हो । बैंकहरूको लगानी अनुसारको नाफा नहुनु र लागत बढ्दै जानुको कारण नै आरओई घट्दै गइरहेको छ ।
हिमालयन बैंक, कुमारी बैंक र एन आई सी एशिया बैंकको रिर्टन अन इक्विटी (आरओई) २ प्रतिशत भन्दा कम छ । आरओई घट्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरूबाट संस्थापक सेयरधनीहरू बाहिरिरहेका छन् ।
बैंकहरूले लिने फि चार्जहरु कम हुनु, यसको नियम कडा हुनु, कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने क्षेत्र बढ्दै जानु, बैंकहरुलाई चार्ज लाग्ने तर बैंकहरुले ग्राहकबाट चार्ज लिन नपाउनु, ४ प्रतिशत स्प्रेडदर भएका कारण यसको प्रभाव परेको एक बैंकरले बताए ।
वाणिज्य बैंकहरुको मर्जर तथा एक्विनिसनले लागत घट्ने बताइए पनि लगात सोही अनुसार घटेको छैन । प्राविधिक कुराहरूमा केही लागत घटेपनि कर्मचारी लगायत अन्य कुराहरुमा भने लागत घटेन । जसले गर्दा वाणिज्य बैंकहरुको खर्च बढ्यो । मर्जरले वाणिज्य बैंकहरुको धेरै शाखाहरु बन्द भएनन् र जसको कारण पनि लगात बढिरहेको छ ।
अहिले २ प्रतिशतभन्दा कम आरओई हुने दुई बैंकहरू मर्ज भएका वाणिज्य बैंकहरू हुन् । हिमालयन बैंकमा सिभिल बैंक मर्ज भएको थियो भने कुमारी बैंकसँग एनसिसी बैंक मर्ज भएको हो । एक पूर्व बैंकरले मर्जरले आजको भोली नै लागत घटाउने नभइ यसको लागि केही समय लाग्ने बताउँछन् ।
बैंकहरूका पुराना सञ्चालकहरूले आफ्नो शेयर बेचेर बाहिरिने क्रम बढ्दो अवस्था छ । लगानीको प्रतिफल कम हुँदै गएपछि सञ्चालकहरू शेयर बेचेर बाहिरिने क्रम बढेको हो । वाणिज्य बैंकहरूमा लगानी गर्नेहरुले १०० रुपैयाँ लगानी गर्ने लगानीकर्ताले विगतमा २७ रुपैयाँसम्म पाउने गरेकाे भएपनि अहिले २ प्रतिशत पनि नभएकाे हाे ।
चालू आर्थिक वर्षकाे तेस्राे त्रैमासमा ३ वाणिज्य बैंकका लगानीकर्ताहरुले २ प्रतिशत प्रतिफल पाउने अवस्था छैन । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार हिमालयन बैंक, कुमारी बैंक र एन आई सी एशिया बैंकका लगानीकर्ताहरुले २ प्रतिशत पनि आरओई छैन ।
हिमालयन बैंकको १.८१ प्रतिशत, कुमारी बैंकको १.०८ प्रतिशत र एन आई सी एशिया बैंकको ०.७१ प्रतिशत आरओई छ ।
कुमारी बैंकको संस्थापक सेयर बेच्ने क्रम बढ्दो अवस्थामा देखिन्छ । तर बिक्री हुन सकेको छैन ।
बैंकको वित्तीय विवरण खराब हुँदै गएपछि बैंकका पुराना सञ्चालकहरु सेयर बेचर बाहिरिन लागेपनि संस्थापक सेयर बिक्री नभएको हो । पछिल्लो समय कुमारी बैंकको संस्थापक सेयर बिक्रीको सूचना बढ्दोरूपमा रहेको देखिन्छ ।
बैंकका अहिले भइरहेका सञ्चालक र सर्वसाधारणहरुले पनि संस्थापक सेयर किन्न भने आँट गरेका छैनन् ।
कुनै समयमा बैंक तथा वित्तीय संस्थाहरूले राम्रो रिर्टन दिने भएका कारण लगानीकर्ताहरुको आकर्षण बढ्दो थियो । अरु क्षेत्रमा भन्दा पनि बैंकहरूमा प्रतिफल राम्रो आउने भएपछि यस क्षेत्रमा लगानी गर्ने आकर्षण बढेको थियो ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बैंक तथा वित्तीय संस्थाहरुमा सञ्चालक एउटै हुनुपर्छ भन्ने नरहेको बताउँछन् । “बैंकहरूको गतिशिलताको लागि नयाँ नयाँ मान्छेहरू नयाँ योजना लिएर आउनुपर्ने । पुरानो मान्छेले २ ३ वर्ष आइडिया दिन्छ त्यो सकियो । जिन्दगी भर त्यहि मात्र बसिरहने भन्ने हुँदैन । पुराना सञ्चालकले शेयर विक्री गरेर नयाँ मान्छे भित्राउनुपर्छ,” उनले भने ।
थापाले बैंकको मालिक बनेर लगानीको प्रतिफल खोज्न नमिल्ने बताउँछन् । “बैंकको मालिक बनेर आरओई खोज्न मिल्दैन । लगानीको धेरै प्रतिफल चाहिने भए उद्योग व्यवसाय गर्नुपर्छ,” उनले भने ।
तर लगानी गर्दा त्यसबाट लगानीको प्रतिफल आउने भएकोले लगानी गर्ने गर्छन् । लगानी च्यारिटी नभइ आफुले लगानी गरेको हिसाबमा प्रतिफल आउँछ भन्ने हिसाबमा लगानी गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्