नयाँ स्टक एक्सचेन्जको आवश्यकता छैन : नेप्से कर्मचारी


काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी गरिरहेको बेला नेपाल स्टक एक्सचेन्जका कर्मचारी संघले भने विरोध गरेका छन् । नेप्से कर्मचारी संघले हाल नेपालमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता नै नरहेको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको जनाएको छ ।
विश्वभर स्टक एक्सचेन्जहरुको मर्जरको लहर चलिरहेको बेला नेपाल जस्तो सानो अर्थतन्त्र भएको देशमा नयाँ स्टक एक्सचेन्ज खोल्न अनुमति दिनु भनेको सर्वथा गलत रहेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघले विश्वका स्टक एक्सचेन्ज मर्जरमा गैरहेको, नेपालको अर्थतन्त्रको आकार सानो रहेको, पुँजीबजार संवेदनशील क्षेत्र रहेको, विकासको निर्धारक पुँजीबजारको संख्या नरहेको, स्टक एक्सचेन्ज व्यावसायिक संस्था नरहेको, धेरै स्टक एक्सचेन्ज खोल्दैमा प्रतिस्पर्धा नहुने, धितोपत्र बोर्डसँग २ वटा स्टक एक्सचेन्ज नियमन गर्ने क्षमता नभएको लगायतका विषयहरु विज्ञप्तीमा उल्लेख गरहेको छ ।

‘नेप्सेको पुनः संरचना गर्नुपर्छ । यसका लागि रणनैतिक विदेशी साझेदार ल्याउनुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय पुँजी, प्रविधि र नविन व्यवस्थापन भित्रिने छ,’ संघको विज्ञप्तीमा भनिएको छ, ‘यसैमा सर्वसाधारण लगानीकर्ता, सरकार र निजी क्षेत्र (पीपीपी मोडल) को सेयर स्वामित्व हुने गरी नेप्सेको आधुनिक पुनःसंरचना गर्दै यसैलाई सुदृढीकरण र आधुनिकीकरण गर्नुपछ ।’