संस्थागत विद्यालयहरुलाई छात्रवृत्ति वितरण गर्न महानगरको निर्देशन


काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नियमानुसार छात्रवृति वितरण गर्न निर्देशन दिएको छ ।

महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई आग्रह गरेको हो ।

यदि नियमअनुसार छात्रवृत्ति वितरण नगरे र त्यसको विवरण महानगरमा पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ र ५७ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने चेतावनीसमेत महानगरले दिएको छ।

विद्यालयमा भर्ना भएका कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघट्ने गरी संस्थागत विद्यालयहरुले छात्रवृत्ति प्रदान गर्नुपर्ने नियम छ।

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० अनुसार १० प्रतिशत निःशुल्क छात्रवृत्ति वितरण गर्न अनुरोध गरिएको काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत नव नारायण पौडेलले जानकारी दिए।

नियमानुसार छात्रवृत्ति वितरणका लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस गरी सम्बन्धित विद्यार्थी तथा उनीहरूका अभिभावकबाट आवेदन लिइ २०८२ साल जेठको पहिलो हप्ता भित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको शिक्षा अधिकृत पौडेलले बताए ।