स्ट्याण्डर्ड चार्टड बैंकलाई राष्ट्र बैंकले १४ करोड ८५ लाख रुपैयाँ जरिवना तिरायो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१ ८२ को तेस्रो त्रैमासमा ५ ओटा वाणिज्य बैंकहरुलाई कार्बाही गरेको छ ।

राष्ट्र बैंक सुपरिवेक्षण विभागले राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टड बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कार्बाही गरेको हो ।

राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टड बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेको भन्दै १४ करोड रुपैयाँ जरिवाना तिराएको हो ।

स्ट्याण्डर्ड चार्टड बैंकले तोकिएको क्षेत्र (कृषि, उर्जा, लघु एवम् साना तथा मझौला) क्षेत्रमा कर्जा प्रवाह नगरेकोले १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिवाना तिराएको हो ।

आ.व. २०८१÷८२ को दोस्रो त्रयमास २०८१ पुस मसान्तसम्मको अवधिमा उक्त बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेकोले कार्बाही गरिएको उल्लेख गरिएको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले केही कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा राष्ट्र बैंकबाट जारी क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५ बमोजिम जोखिम भार गणना नगरेको, जारी चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना नगरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

कुमारी बैंकले सूक्ष्म निगरानी कर्जा तथा निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

लक्ष्मी सनराइज बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनहरुको पालना नगरेकोले लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ ।

बैंकको सञ्चालक, चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ्ग एजेण्ट वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएकोमा उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हँुदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रहीनियमविपरीत अप्रत्यक्ष रुपमा लक्ष्मी सनराइज बैंकले कर्जा सुविधा उपलब्ध गराएको थियो ।

लक्ष्मी सन्राइज बैंकले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको, मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यवसायिक संस्थाहरुलाई समेत बेलोनिङ किस्ता कायम गरी कर्जा अवधिको सुरुका वर्षहरुमा अत्याधिक न्यूनतम तथा अन्तिम वर्षहरुमा अधिकतम साँवा असुल हुने गरी कर्जाको किस्ता कायम गरेको, नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरु सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको तथा चालु पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात ्ब्रिज ग्याप कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भिर रहेको नपाइएको जनाएको छ ।

लक्ष्मी सन्राइज बैंकले संस्थापक शेयरधनीका लागि ऋण लिने सन्दर्भमा शेयर धितो राख्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्नेमा बैंकको दुई प्रतिशतभन्दा बढि शेयर धारण गर्ने एक संस्थापक शेयरधनीले धारण गरेको लक्ष्मी सन्राइज बैंकको संस्थापक शेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिई निजको संस्थापक शेयर धितोबन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेकोले कार्बाहीमा परेको जनाएको छ ।

नेपाल बंैक लिमिटेड र त्यस बैंकका प्रमुख कार्यकारी अधिकृत बिच भएको सम्झौता अनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजना बिच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरु बिच आपसी समन्वय गर्न÷गराउन नसकेको देखिएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।