काठमाडाैँ । सहकारी क्षेत्रमा प्रविधि मैत्री सेवा विस्तार गर्नका लागि जनकपुरधाममा ‘सहकारी सफ्टवेयर’ सम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
फिनएक्स को–अपरेटिभ सफ्टवेयर निर्माण कम्पनी ‘जिनव इन्क प्रा.लि’ को आयोजनामा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशभरिका एक सयभन्दा बढी सहकारी संस्थाका अध्यक्ष, सञ्चालक तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहकारी संस्थामा प्रविधिको प्रयोग, सफ्टवेयर छनोट गर्दा ध्यान दिनुपर्ने पक्षहरू तथा यसबाट हुने फाइदाहरूबारे विस्तृत छलफल गरिएको थियो।
सहकार्यात्मक सत्रमा सहकारी विज्ञ किरण पौडेलले सहकारी क्षेत्रमा उपयुक्त सफ्टवेयर छनोट गर्ने मापदण्डबारे प्रशिक्षण दिए । उनले क्लाउड बेस भएको, सहकारी ऐन तथा नियमावलीसँग नबाझिने, थर्ड पार्टी एप नचाहिने, नियामकको निर्देशन पालना गर्न सहज हुने, तथा प्रभावकारी रिपोर्टिङ गर्न सकिने सफ्टवेयर छनोट गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक नथुनी यादवले सहकारीको पारदर्शिता, ऐनको पूर्ण पालना र सकारात्मक छवि निर्माणमा जोड दिए । उनले सहकारीहरूले गरिबी निवारण, बेरोजगारी न्यूनीकरण र आर्थिक विकासमा खेलेको भूमिकाबारे पनि प्रकाश पारे ।
मधेस प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका अधिकृत वाशुदेव भट्टले सहकारी संस्थामा सुशासन कायम गर्न सफ्टवेयर प्रयोग अत्यावश्यक भएको बताए ।
कार्यक्रममा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामनगिना राउत, समाजसेवी कृष्ण दिक्षित र स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक विनोद थापाले पनि सहकारीको भविष्य र डिजिटल प्रविधिको आवश्यकताबारे धारणा राखेका थिए ।
सन् २०८० सालको साउनदेखि संचालनमा आएको ‘फिनएक्स को–अपरेटिभ सफ्टवेयर’ हाल ५ सयभन्दा बढी सहकारी संस्थाहरूले प्रयोग गरिरहेका छन्।
कोशी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयद्वारा जारी ‘सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि–२०८१’ अनुसार सूचीबद्ध यस सफ्टवेयरमा कोर बैंकिङ सुविधा, कर्जा लगानी प्रक्रिया, गो एएमएल, कोपोमिस, पल्स मनिटरिङ जस्ता विशेष मोडेलहरू समावेश छन्।
यस्तै सफ्टवेयरमार्फत क्युआर कोड भुक्तानी, मिस्डकलमार्फत मोबाइल रिचार्ज, बैंक र वालेटबिसच रकम ट्रान्सफर, एटीएम र ई–टेलरजस्ता आधुनिक सुविधाहरू पनि उपलब्ध गराइएको आयोजक कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्