एक करोड रूपैयाँ भन्दा बढी सहुलियतपूर्ण कर्जा लिने झण्डै एक हजार ऋणी


काठमाडौँ । बैंक तथा वित्तीय संस्था र लघुवित्त कम्पनीहरुले एक खर्ब ५४ अर्ब ६५ करोड ४३ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार एक लाख ३ हजार १७३ ऋणीलाई एक खर्ब ५४ अर्ब ६५ करोड ४३ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेका हो ।

एक खर्ब ५४ अर्ब ६५ करोड ४३ लाख २३ हजार रुपैयाँ कर्जा स्वीकृत गरेपनि ९१ अर्ब ३१ करोड ९९ लाख ९६ हजार रुपैयाँ उठ्न बाँकी कर्जा रहेको छ । सरकारले विभिन्न १० प्रकारका सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिँदै आइरहेको छ ।

जसमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्किएका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरुको निजी निवास कर्जा, कपडा उद्योग सञ्चालनको लागि, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवा स्वरोजगार कर्जामा सहुलियत दिँदै आएको छ ।

वाणिज्य बैंकबाट एक खर्ब ३३ अर्ब १४ करोड ३९ लाख १५ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कृषि तथा पशुपन्छी कर्जा लिने ३८ हजार ८९५ ऋणीहरु रहेका छन् । जसमध्ये वाणिज्य बैंकबाट सहुलियतपूर्ण कृषि तथा पशुपन्छी कर्जा लिने ३५ हजार २६१ ऋणीहरु रहेका छन् ।

कृषि तथा पशुपन्छी कर्जा ८८ अर्ब ६० करोड ४८ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ भने ६५ अर्ब १९ करोड ८८ लाख ४४ हजार रुपैयाँ उठ्न बाँकी कर्जा रहेको छ ।

एक करोड रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा फर्म तथा उद्योगहरु झण्डै एक हजार रहेका छन् । एक करोड रुपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा लिने उद्योग तथा फर्महरु ९६० ओटा रहेको राष्ट्र बैंकले जनाएको छ । अधिकांश एक करोड रुपैयाँभन्दा बढी कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा लिइएको छ ।

जसमा दाना उद्योग, बिऊ, चिया, कृषि फार्म, जडिबुटी प्रशोधन, चल्ला उद्योग, नर्सरी, डेरी, माछा पालन, पोल्ट्री फार्म, कृषि रिसर्च सेन्टर, पशुपालन लगायतका फर्म तथा उद्योगहरुमा कृषि कर्जा प्रवाह भएको छ ।

५० ओटा बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतपूर्ण कर्जा उपयोग गरेका छन् । २०८१ चैत मसान्तसम्म सरकारले २८ अर्ब ४९ करोड ३ लाख ८९ हजार रुपैयाँ ब्याज अनुदान प्रवाह गरेको छ ।