काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटका लागि सरकारलाई १०१ बुँदे सुझाव प्रस्तुत गरेको छ। सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष यी सुझाव पेश गरेका हुन् ।
अध्यक्ष अग्रवालले कृषि, पर्यटन, ऊर्जा क्षेत्रको विकास, रोजगारी सिर्जना, व्यावसायिक र औद्योगिक लगानीको वातावरण तथा उत्पादन वृद्धिलाई पहिलो प्राथमिकता दिने सुझाव दिए। उनले भने, “यी समृद्धिका आधारहरूलाई ध्यानमा राखेर सरकारले आगामी बजेट निर्माण गर्नुपर्ने आवश्यकता छ।”
साथै उनले समयमै पुँजीगत खर्च गर्नको लागि कार्य योजना तयार गर्न र त्रैमासिक समीक्षा गर्नुपर्ने बताउँदै, सरकारको आर्थिक लक्ष्य प्राप्त गर्न नीतिगत स्थायित्वका साथ यथार्थपरक बजेट ल्याउनुपर्नेमा जोड दिए।
नेपाल चेम्बर अफ कमर्सले स्थानीय स्रोतमा आधारित खनिज जन्य रत्न पत्थर, कृषि जडीबुटी र वनजन्य उद्योगलाई प्रोत्साहित गर्नुपर्ने, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयअन्तर्गत ल्याइ समन्वय गर्नुपर्ने प्रस्ताव राखेको छ।
यसका साथै चेम्बरले वैदेशिक रोजगारीबाट फर्कनेहरूको सीप र दक्षतालाई उपयोग गर्न स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिएको छ।
प्रतिक्रिया दिनुहोस्