सरकारले गभर्नर नियुक्त गर्न नसक्दा मुलुककाे बेइज्जत भयाेः सांसद शर्मा


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताएकी छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा उनले दुई तिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आवद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताएकी हुन् । उनले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई आग्रहसमेत गरिन् । 

“नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिको विषय संसदभित्र संसद बाहिर, मिडिया सबैतिर चर्चा हुन थालेको पनि लामो समय भयो । यो बिचमा हामी सबैले छलफल गरिरहेका छौं । देशलाई ग्रे लिष्टबाट मुक्त गर्नुपर्नेछ । देशको अर्थतन्त्र सवलीकरण गर्नुपर्ने छ । तरपनि गभर्नरको नियुक्ति नभएर समितिकै सदस्यले राजीनामा दिएको भन्ने विषय बाहिर आइरहेको छ । यस्तो अवस्थामा यो दुई तिहाइको यति बलियो सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न चाहन्छु,” उनले भनिन् ।

उनले दुई तिहाइको सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न आफू इच्छुक रहेको बताइन् ।