महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


काठमाडौँ । महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८०/०८१ को ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।

बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा रायाले संविधानको धारा २९४ को उपधारा १ अनुसार प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा हरेक वर्ष बढ्दै गएको बेरुजु सुशासनका लागि गम्भीर चुनौती भएको टिप्पणी गरे।

उनले सरकारी कारोबारमा आर्थिक अनुशासनको पालना नगर्नु र प्रचलित कानुनको प्रभावकारी परिचालन नहुनु राज्यको वित्तीय प्रणालीप्रति नै प्रश्न उठाउने खालको विषय भएको बताए।

“विगत केही वर्षदेखि सरकारी खर्चमा बेरुजुको दर निरन्तर बढ्दै गएको छ, जुन गम्भीर चासोको विषय हो। अब सार्वजनिक निकायका पदाधिकारीहरू थप जवाफदेही बन्न जरुरी छ,” उनले भने ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक खर्च, वित्तीय अनुशासन र सरकारी लेखापरीक्षणको प्रभावकारिता मूल्याङ्कन गर्ने वार्षिक प्रतिवेदन राष्ट्रपति, प्रधानमन्त्री तथा संघीय संसदमार्फत सार्वजनिक गर्ने प्रचलन रहिआएको छ ।