स्याङ्जाका ११ स्थानीय तहमा १६ करोडभन्दा बढी बेरुजु, कुन पालिकाको कति ?


काठमाडौँ । आर्थिक अनुशासन पालना गर्न नसक्दा स्याङ्जा जिल्लाका ११ वटा स्थानीय तहमा १६ करोडभन्दा बढी रकम बेरुजु देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले हिजाे सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा उक्त स्थानीय तहहरूले आर्थिक वर्ष २०८०/८१ मा बजेट खर्चमा लापरवाही गरेको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार जिल्लाभर १६ अर्ब २० करोड १३ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो। बेरुजु रकमका हिसाबले सबैभन्दा बढी चापाकोट नगरपालिकामा देखिएको छ । जहाँ १ अर्ब ५२ करोड ४२ लाख ९८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ३ करोड ११ लाख ४२ हजार बेरुजु देखिएको छ।

त्यसपछि वालिङ नगरपालिकाले २ अर्ब २८ करोड ७६ लाख ७७ हजारको लेखापरीक्षणमा २ करोड ३० लाख ३० हजार बराबरको बेरुजु देखाएको छ। पुतलीबजार नगरपालिकामा २ अर्ब ३९ करोड ४७ लाख ८२ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ४५ लाख ३३ हजार, भीरकोटमा १ करोड २४ लाख ८८ हजार र गल्याङ नगरपालिकामा १ करोड १८ लाख २१ हजार बेरुजु देखिएको छ।

गाउँपालिकातर्फ हेर्दा हरिनास गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ। १ अर्ब ३ करोड ८५ लाख ९८ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ४ करोड ८१ लाख १२ हजार बेरुजु फेला परेको हो।

आँधीखोला गाउँपालिकाले ९४ लाख ८० हजार, अर्जुनचौपारीले ३६ लाख ५५ हजार, कालीगण्डकी र फेदीखोलाले ३१ लाख ६७ हजार बेरुजु गरेका छन्। विरुवा गाउँपालिका भने सबैभन्दा कम बेरुजु देखिने पालिका बनेको छ । जहाँ १३ लाख ८३ हजार मात्रै बेरुजु देखिएको छ ।