काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता हुँदा हुँदै सानिमा बैंकले ७ प्रतिशत ब्याजदर मा विदेशबाट ऋण ल्याएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपनि सानिमा बैंकले १२ महिना अविधिको लागि ७ प्रतिशत ब्याजदरमा बेलायतको ब्रिटिश इनटरनेशनल इन्भेष्टमेन्ट पिएलसी बाट एक करोड ५० लाख डलर ऋण ल्याएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता हुँदा हुदैँ बैंकले महङ्गो ब्याज तिरेको एक पूर्व बैंकरले बताए । उनले लामो समयको लागि भएको भए धेरै फरक नपर्ने भएपनि छोटो समयको लागि धेरै ब्याज तिरेको बताए ।
सानिमा बैंकले ३ वर्ष अगाडीदेखि विदेशी ऋण ल्याउने तयारी गरेको थियो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले ३ वर्ष अगाडीदेखि ऋण ल्याउने तयारी गरिरहेकोले अहिले विदेशबाट ऋण ल्याएको पुष्टि गरे ।
तरलता अभाव भएको समयमा बैंकले ऋण लिने तयारी गरेको भएपनि गत फागुनमा मात्र बेलायती कम्पनी र सानिमा बैंक बिच ऋण ल्याउने सम्झौता भएको हो । उक्त ऋण सहायता जलविद्युत र सोलारमा लगानी गर्नुपर्ने सर्त राखिएको छ ।
एक पूर्व बैंकरले सँधै अहिलेको जस्तो तरलता सहज नहुने र ल्याउने प्रकृया बढीसकेको अवस्थामा महङ्गो ब्याजदरमा ऋण लिन बाध्य भएको हुन सक्ने बताए ।
वि.सं. २०७५ सालमा तरलताको अभाव भएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशबाट ऋण ल्याउने बाटो खुलाएको थियो ।
लगानी योग्य रकम अभाव भएको कारण तरलता व्यवस्थापन गर्न भन्दै बैंक तथा वित्तीय संस्थालाई विदेशबाट ऋण लिने बाटो खुकुलो बनाइएको राष्ट्र बैंकको तर्क थियो । कोभिडको समयमा बैंक तथा वित्तीय संस्थासँग अत्याधिक तरलता रहेको कारण वैदेशिक ऋण ल्याउन चासो दिएका थिएनन् ।
बैंक तथा वित्तीय संस्थाहरूले ल्याएको वैदेशिक ऋण नवीकरणीय ऊर्जा (जलविद्युत्, सौर्य र वायु ऊर्जा), विमानस्थल, सडक, सुरुङ मार्ग, उत्पादन तथा प्रसारण लाइन, केवलकार, पुल जस्ता भौतिक पूर्वाधार (हाउजिङ, जग्गा विकास जस्ता रियलस्टेट बाहेक), विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न सक्छन् ।
राष्ट्र बैंकका अनुसार चैत महिनामा कर्जाको भारित औसत ब्याजदर ८.२२ प्रतिशत रहेको छ । तरलता अभाव भएको समयमा बैंकहरुले सोफर प्लस प्रिमियम थपेर कर्जा ल्याएका थिए ।
सेक्योर्ड ओभरनाइट फाइनान्सिङ रेट (सोफर) एक बेन्चमार्क ब्याज दर हो । जसले अमेरिकी ट्रेजरी सेक्युरिटीजद्वारा सुरक्षित गरिएको ओभरनाइट नगद उधारोको लागत मापन गर्दछ । यसलाई जोखिममुक्त दर मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्