सरकारी कार्यक्रममा निमन्त्रणा दिएर नआउनेलाई अब नबोलाउन प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यक्रममा बोलाएर पनि निरन्तर अनुपस्थित हुने व्यक्तिहरूको नाम आगामी कार्यक्रमहरूमा नसमेट्न निर्देशन दिएका छन् ।

सोमवार सिंहदरबारमा सम्पन्न गणतन्त्र दिवस मुल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कार्यक्रमहरूमा नियमित रूपमा नाम राखिए पनि सहभागी नहुनेहरूको रेकर्ड हेरी अर्को पल्टदेखि नाम नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।

उनले विशेष रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति लक्षित गर्दै कार्यक्रमहरूमा कहिल्यै नदेखिने तर सधैं नाम समावेश हुने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । “कहिले पनि नआउने, नाम राखिरहनुपर्ने,” उनले भने, “मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि के हो। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् जस्तो लाग्छ।”

प्रधानमन्त्री ओलीले कुनै पनि अर्थ वा महत्व नबुझ्ने व्यक्तिहरूको नाम झुन्ड्याइरहने परिपाटी उचित नरहेको भन्दै सरकारी कार्यक्रमको गरिमा कायम राख्न यस्ता व्यवहारको अन्त्य आवश्यक भएको स्पष्ट पारे ।

उनले रेकर्डको आधारमा निम्त्याउने व्यक्तिको सहभागिता सुनिश्चित गर्नुपर्ने र नआउने व्यक्तिलाई अबदेखि नबोलाउन आग्रह गरे ।